
तुलसीपुर, भाद्र २३ ।
दाङ भ्याली यातायात प्रालिले लुम्बिनी प्रदेशका आन्तरिक मामिला कानुन उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिरसंग भेट गरि ध्यानाकर्षण पत्र बुझाएको छ
सोमबार प्रालिका अध्यक्ष महेन्द्र महरा नेतृत्वको टोलीले तीन पाङ्ग्रे अटो/ टेम्पो सञ्चालनमा देखिएका कठिनाई, नीति गत समस्या समाधानका लागि मन्त्रीको ध्यानाकर्षण गराएको हो ।
प्रतिनिधि मण्डले टेम्पो संचालन गर्दा देखिएका रुटका समस्या समाधान गरि दिन मन्त्री अहिरलाई आग्रह गरेको हो ।
साथै तीन पाङ्ग्रे साना सवारीका हकमा कोशी प्रदेशमा लागु भएको लाइसेन्सको प्रयोगात्मक परीक्षा दिनु पूर्व लिखित परीक्षा दिनु नपर्ने ब्यवस्था लुम्बिनीमा पनि लागु गरिनुपर्ने टोलीको माग थियो ।
तीन पाङ्ग्रे साना सवारी साधनका हकमा जिल्ला स्तरिय बाटो इजाजत पत्र जारी गरिनुपर्ने र भौगोलिक अवस्थालाई मध्यनजर गरि पटके पर्मिटको ब्यवस्था गरिनुपर्ने, बैकल्पिक सडकहरुको भरपर्दौ पहँुच र उपलब्धता नभएका क्षेत्रमा बाटो इजाजत पत्र (रुट पर्मिट)मा राजमार्ग बाहेक र मुल सडक भन्ने शब्द हटाई यस्ता सवारी साधनलाई राजमार्गमा सञ्चालनको रोक लगाउन नहुने गरी कानुन परिमार्जित गरिनुपर्ने मागपनि गरिएको छ ।
दोहोरो करको मारमा यातायात ब्यवसायी नपर्ने गरी स्थानीय तहहरु संग सम्वन्य सहकार्य गरिनुपर्ने र अन्य केही प्रदेशको तुलनामा लुम्बिनी प्रदेशमा करको दर समेत उच्च भएकाले त्यसलाई समायोजन गरी करको दरलाई घटाउनुपर्ने लगाएतका माग टोलीले मन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री अहिरले यातायात ब्यवसायीका समस्या आफुले कानुन सम्वत समाधान गर्ने आश्वासन दिएका थिए ।
मन्त्री अहिरले आँफुले भर्खरै मन्त्रालयको जिम्मेवारी समालेको हुँदा आफु ब्यवसायीका पक्षमा रहेको बताए ।
