
दाङ, साउन २९ ।
रोल्पाको सुनछहरी पहिरोमा बेपत्ता चारै जनाको शब फेला परेको छ ।
खोज तलासका क्रममा शुक्रबार दिउँसो सुनछहरी गाँउपालिका – २ मङरारुकी ६४ बर्षीया लामी घर्ती मगरको शब फेला परेको हो ।
त्यसअघि सुनछहरी –२ फलबाङका ७७ बर्षीय विरबहादुर घर्ती मगर, उनकी श्रीमति ६८ बर्षीया शनी घर्ती मगर र राति मगर दम्पत्तिको घरमा सुत्न आएकी छिमेकी ७० बर्षीया लली घर्ती मगरको शब फेला परेको थियो । जिल्ला प्रबक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अबिरल बर्षा पछि बिहीबार राति माथिबाट झरेको पहिरोले सुनछहरीका दुई घर पूर्णरुपमा नष्ट भएको र त्यसमा बेपत्ता चारै जनाको शब फेला परेको हो ।
जिल्लाको थवाङ गाउँपालिका –५ कोटलबारा पहिरोमा परि बुधबार बेलुकी मात्रै १० जना मृत्यु भएको थियो ।
५ वटा शब घटनास्थलमै र थप ५ वटा शब प्यूठानको माडी खोलाका बिभिन्न स्थानमा बिहीबार फेला परेका थिए । पहिरोमा परि बेपत्ता ३ जनाको खोजी कार्य जारी छ ।
थवाङ पहिरोका दुई जना घाइतेको भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बिहीबार राति मात्रै जिल्लाको लुङग्री गाउँपालिका – १ खदरमा चट्याङबाट स्थानीय ५९ बर्षीय बिरबहादुर खत्रीको घरमै बसिरहेको समयमा चट्याङले लागेर मृत्यु भएको थियो ।
