
तुलसीपुर, साउन १७ ।
आइतबार दिनभर जसो घोराहीमा एउटा भैंसीका कारण समाजमा आतंक सृजना भयो ।
घोराही उपमहानगरपालिका–१८ अम्बापुर र नवलपुर क्षेत्रमा स्थानीय माथि आक्रमण गर्दै हिड्ने भैसीका कारण दिनभर समाजमा आतंक छाएको थियो ।
जुन भैंसी मासुका लागि बथ गर्ने भनेर पाँच दिन अघि घोराही – १० नारायणपुर क्षेत्रबाट मासु ब्यापारीले खरिद गरि लगेका थिए ।
घोराही – १४ नयाँ बजारमा उनको बथशाला थियो । तर, भैंसी थुन्ने गोठ भने घोराही – १८ रझेनाको बगर नजिक थियो । मासुका लागि भनेर किनेर लगेको भंैसी खोरमा थुन्दै गर्दा खरिद गरि लैजाने ब्यापारीलाई नै आक्रमण गरि मकैबारीमा पसेको थियो ।
त्यसरी बिच्किएर मकै बारीमा पसेको. भैंसी तीन दिन बाँस घारीमा बसेको थियो । तीन दिन पछि शनिबार गाउँ छिरेको भैंसीले मोनिङ वाकमा रहेका तीन जना महिला माथि आक्रमण गरेको थियो । शनिबार नै अर्का एक जना माथि पनि आक्रमण गरेको थियो । जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार भैंसीको आक्रमणमा परि स्थानीय चार जना घाइते छन् ।
स्थानीय पत्रकार नरेन्द्र केसीले भने भैंसीको आक्रमण बाट ८ जना घाइते भएको भएका छन् ।
केसीका अनुसार आइतबार पनि उक्त भैंसीको आक्रमण बाट चार जना स्थानीय घाइते भएका छन् । भैंसीका कारण नवलपुर, अम्बारपुर लगाएतका गाउँमा आतंक सृजना भएपछि स्थानीयले आइतबार त्यो भैंसी नियन्त्रणमा लिनका लागि प्रहरी प्रशासन गुहारेका थिए । झन्डै दुई दर्जन प्रहरी र स्थानीय भैंसी नियन्त्रणमा लिने प्रयास स्वरुप दिनभर खटिएका थिए । नियन्त्रणमा लिने प्रयास गर्दा भैंसी भागेर मकै बारीमा प्रबेश गरेको थियो ।
बेलुकी पख उक्त भैंसी मकैबारी भित्र एउटा कुखुरा फर्म नजिकै आराम गरि बसी रहेको देखिएको थियो । त्यसपछि सल्लाह गरि स्थानीयका केही भैंसी र पाडापाडी समेत त्यो भैंसी भएको ठाउँमा छोडिएको थियो । अरु भैंसी तथा पाडापाडी देखेपछि भैंसी उनीहरु तर्फ जाने क्रममा गोड नजिकै त्यसलाई नियन्त्रणमा लिई लडाएर सबै खुट्टाहरु बाँधेर टयाक्टरमा लोड गरि सम्बन्धित ब्यापारीले भैंसी लगेर गएको प्रहरीले जनाएको छ ।
पाँच दिनदेखि समाजमा आतंक सजना गरेको भैंसी आइतबार करिब पाँच घन्टाको प्रयास पछि मात्रै नियन्त्रणमा लिन संभव भएको प्रहरीले जनाएको छ ।
