२०८३ साउन १ गते शुक्रवार

तुलसीपुरका राजेश र राधा दम्पत्तिलाई ३० बर्ष , रामलाई २७ बर्ष कैदको फैसला

तुलसीपुर, साउन १ ।

दाङ जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका –१६ का ३० वर्षीय राजेश नेपाली र उनकी ३५ वर्षीया श्रीमति राधा पाण्डे नेपालीलाई जनही ३० बर्ष कैद सजायको फैसला सुनाएको छ ।
त्यस्तै अर्का प्रतिबादी भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय राम निवास मौर्यलाई २७ बर्ष कैद सजाएको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश लालसिंह थापाको इजलासले बिहीबार मानव बेचबिखन सम्बन्धि मुद्दामा दोषी ठहर गर्दै उनीहरुलाई त्यस्तो फैसला सुनाएको थियो ।
२ बर्षअघि नाबालक छोरा र आमासमेतलाई झुक्याएर इण्डिया पुर्‍याइ उनीहरुलाई भारतिय ३५ हजार रुपैंयामा बेचेको मानब बेचबिखन सम्बन्धि मुद्दामा अदालतले त्यस्तो फैसला सुनाएको अदालका प्रबक्ता गोकर्ण वलीले बताए ।
राजेश र राधा दम्पत्तिले दाङकी २३ बर्षीया आमा र उनका ४ बर्षीय छोरालाई सस्तोमा सामान किन्न भारतको कृष्णनगर जाउँ भन्दै २०८१ माघ ४ गते कृष्णनगर हुँदै भारतको बलरामपुर पुर्‍याइ भारु ३५ हजारमा उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास मौर्यलाई बिक्री गरेका थिए ।
प्रहरीले १३ दिन पछि माघ १७ गते उनीहरुलाई उद्धार गरि ल्याएको थियो । १८ गते पीडित महिलाले तीनै जना बिरुद्ध मानव बेचबिखन तथा ओसार परास सम्बन्धि मुद्दा दायर गरेकी थिइन ।
सोही मुद्दामा दुई बर्ष पछि असार ३२ गते फैसला सुनाउँदै जिल्ला आदातले राजेश र राधा दम्पत्तिलाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण ऐन) २०६४ को दफा १५ (१) (क) बमोजिम दम्पत्ति राजेश र राधालाई जनही २० बर्ष कैद , दुई लाख रुपैयाँ जरिवाना र दफा १५ (१) (ङ)को १ बमोजिम थप जनही १० बर्ष कैद र ५० हजार रुपैंयाँ जरिवाना हुने ठहरसहितको फैसला अदालतले सुनाएको थियो ।
साथै प्रतिबादी राजेश पटके कसुरदार देखिएको हुँदा उनको हकमा मुलुकी अपराध संहिता २०७४ को दफा ४४ (२) बमोजिम थप ६ महिना कैद र ५ हजार रुपैंयाँ जरिवाना हुने फैसला न्यायाधीस थापाले सुनाएको अदालतका प्रबक्ता वलीले बताए ।
अर्का प्रतिबादी तथा भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय राम निवास मौर्य जस्ले आमा र छोरालाई ३५ हजार भारुमा किनेका थिए उनलाई २७ वर्ष कैदको फैसला सुनाइएको छ । मौर्यलाई ३ लाख ५० हजार जरिवाना र १८ हजार क्षतिपूर्ति भराउने फैसला भएको छ ।
भारतिय नागरिक मौर्यलाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण ऐन) २०६४ को दफा १५ (१)को देहाय (क) बमोजिम २० बर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको छ ।
साथै प्रतिबादी मौर्यको हकमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ७ बर्ष कैद र दफा २१९ (३ क) को देहाय –ग) बमोजिम ३ लाख रुपैंयाँ जरिवाना हुने फैसला सुनाएको अदालतका प्रबक्ता वलीले बताए । साथै दफा २२ बमोजिम नैतिक पतन हुने कसुुर कायम हुने अदालतले ठहर गरेको छ ।
त्यसका साथै यी प्रतिबादीहरुले गरेको कसुर मुुलुकी अपराध संहिता २०७४ को दफा ४३ (१) बमोजिम एकीकृत कसुर देखिदा भारतिय नागरिक मौर्यलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम भएको सजायको आधा ३ बर्ष ६ महिना कैद र दफा २१९ (३ क) को देहाय (ग) बमोजिम भएको जरिवानको आधा एक लाख ५० हजार थप सजाय हुने अदालतले फैसला सुनाएको छ ।
राजेश उनकी श्रीमति राधा र भारतिय नागरिक राम बाट मानव बेच बिखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ को दफा १७ बमोजिम र मुलुकी अपराध संहिता २०७४ को दफा २२८ बमोजिम जनही २५ हजारका दरले पीडितलाई क्षतिपुर्ती भराउन भनिएको छ । भारतिय नागरिक मौर्यबाट पीडित राहात कोषमा ३ लाख बुझाएमा पीडितलाई दिलाउन भनिएको छ ।
अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ (३) बमोजिम श्रीमान – श्रीमति राजेश र राधा बाट जनही ८ हजार र भारतिय नागरिक मौर्यबाट १८ हजार पीडित राहात कोषमा जम्मा गर्न फैसलामा भनिएको छ ।

प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *