
५ जनाको घोराहीमा उपचार जारी
दाङ, असार २४ ।
रोल्पामा भएको बस दुर्घटनामा परि चार जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते चार र मध्यम घाइते एक समेत गरि पाँच जना घाइतेको घोराहीमा उपचार जारी छ ।
दुर्घटनामा गम्भीर घाइते हुनेहरुमा त्रिवेणि गाउँपालिका–७ रामीका १९ बर्षीय अम्मर झाँक्र्री, माडी गाउँपालिका – २ घर्ती गाउँकी २५ बर्षीया जुनमाया पुन मगर, परिवर्तन गाउँपालिका – २ राङ्सीका ३९बर्षीय रामबहादुर घर्ती मगर, रोल्पा नगरपालिका –३ क्युरीकी २५ बर्षीया मनिषा विक छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक रामचन्द्र चन्दले गम्भीर घाइते चारै जनालाई शरिरका बिभिन्न भागमा चोट पटक लागेको बताए ।
उक्त दुर्घटनामा परि दाङको घोराही उपमहानगरपािलका – १६ सर्राकी ५० बर्षीया सुनिता घर्ती मगरपनि घाइते भएकी छन् । उनको अवस्था मध्यम रहेको चन्दले बताए ।
उनीहरु पाँचै जना घाइतेलाई रोल्पा बाट थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञानमा ल्याएर उपचार भइ रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १४ यात्रु घाइते भएपनि अन्यको अवस्था भने सामान्ने रहेको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो साढे ३ बजेतिर सहिद मार्ग अन्तरगत घर्ती गाँउबाट– दाङको घोराही हुँदै काठमाडौंका लागि छुटेको लु २ ख २९६६ नम्बरको बस त्रिवेणी गाउँपालिका –७ गाइ बिसौना नजिकै दुर्घटनामा परेको थियो ।
ओरालोमा ब्रेक फेल भएपछि बस सडकमै पल्टिएको थियो । दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।