२०८१ बैशाख २४ गते सोमवार

आज विश्व क्षयरोग दिवस मनाइदै


दाङ, चैत ११ । नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर भएकाले क्षयरोग नियन्त्रणमा चुनौती देखिएको छ ।

क्षयरोग नियन्त्रणका लागि सरकार तथा विभिन्न गैरसरकारी निकायको प्रयास रहे पनि नियन्त्रण गर्ने मामिलामा चुनौती छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ७० हजार नयाँ बिरामी थपिने गरेका छन् ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले क्षयरोग नियन्त्रणमा चुनौती रहेको बताउँदै भने, “उपचारको पहुँचमा आउन नसकेका बिरामीमध्ये ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष छन् ।”

सरकारले सुरु गरेको क्षयरोगमुक्त नेपाल अभियानमार्फत १२५ स्थानीय तहमा क्षयरोग नियन्त्रणका लागि परीक्षण तथा खोज कार्यक्रम सञ्चालन गरिएको छ । उनले क्षयरोग नियन्त्रणका लागि ७५३ वटै स्थानीय तहमा खोज कार्यक्रम विस्तार गरिने बताए ।

क्षयरोगका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोगी छन् भने बाँकी २८ प्रतिशत विभिन्न अङ्गका क्षयरोगी छन् ।

केन्द्रका अनुसार उपचारमा रहेका बिरामीमध्ये ६८ प्रतिशत बिरामी मधेश, बागमती र लुम्बिनी प्रदेशका छन् । उनले सबैभन्दा धेरै बिरामी मधेश प्रदेशमा र त्यसपछि बागमतीमा र लुम्बिनी प्रदेशका रहेको बताए ।

डा.श्रेष्ठले नेपालमा क्षयरोग उपचारको सफलता दर विश्वका अन्य देशकोभन्दा उच्च रहेको जानकारी दिए।

विश्वमा औषधी प्रतिरोधी क्षयरोगको उच्च भार भएका ३० देशमध्ये नेपाल पनि रहेको भन्दै उहाँले क्षयरोग सरुवा रोग भएकाले यसको समयमै निदान र उपचार जरुरी रहेको बताए । उनले क्षयरोगका लक्षण भएका र जोखिम समूहमा पर्नेले क्षयरोग परीक्षण गर्न सुझाव दिए ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार विगतका वर्षमा २० देखि ३० हजारसम्म नयाँ क्षयरोगी थपिने गरेकामा पछिल्लो एक वर्षमा नेपालमा ३७ हजारभन्दा बढी बिरामी थपिएका छन् ।

क्षयरोग नियन्त्रण गर्न सकिने भएकाले सबै क्षेत्रको सहयोग आवश्यक पर्ने केन्द्रले बताएको छ । उहाँले क्षयरोग नियन्त्रण गर्न स्थानीय तहको सहयोग महत्वपूर्ण हुने बताए ।

छाती रोग विशेषज्ञ डा.केदारनरसिंह केसीले क्षयरोगमध्ये सबैभन्दा बढी ८५ प्रतिशत क्षयरोग फोक्सोको हुने गरेको जानकारी दिए। उनले लगातार दुई हप्ता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुने लक्षण क्षयरोगका कारण हुने बताए। उनले क्षयरोग अन्त्य गर्न रोगीमाथि हुने भेदभावको अन्त्य हुनुपर्ने बताए। नेपाल सरकारले सन् २०५० सम्म क्षयरोग उन्मूलन र २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।

यसैबिच आज विश्व क्षयरोग दिवस मनाउन लागिएको छ । हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउने गरिन्छ । यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने रहेको छ ।

प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *