२०८१ बैशाख १९ गते बुधवार

दाङमा हात्तीपाइले रोगको नमुना सर्वेक्षण गरिँदै

दाङ, पुस १८ । जिल्लामा हात्तीपाइले रोगको अवस्थाबारे जानकारी लिन सर्वेक्षण गरिने भएको छ ।

जिल्लाको ४ स्थानमा यस प्रकारको सर्वेक्षण गर्न लागिएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा र स्वास्थ्य कार्यालय दाङले आयोजना गरेको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

चन्दका अनुसार जिल्लाको ४ स्थानमा सर्वेक्षण गरिने र यसैको आधारमा के गर्ने भनेर अगाडि बढिने छ । दंगीशरण गाउँपालिकाको वडा नम्बर ५, तुलसीपुर उप महानगरपालिकाको वडा नं १९, घोराही उपमहानगर पालिकाको वडा नं. २ र राप्ती गाउँपालिकाको वडा नं. ५ मा सर्वेक्षण गरिने भएको छ । छनोट गरिएका क्षेत्र पहिले हात्तीपाइले रोग देखिएका स्थान रहेको बताइएको छ ।

छनोट गरिएको एउटा क्षेत्रमा ३ सय जनाको परीक्षण गरिने फोकल पर्सन चन्दले बताए । जिल्लामा जम्मा एक हजार दुई जनामा परीक्षण गरिने छ ।

परीक्षणका क्रममा हात्तीपाइले रोग पाइएमा औषधी खुवाइने छ । जिल्लामा ५ लाख बढी जनसङ्ख्या भएकाले २ खण्डमा विभाजन गरिएको समेत उनले बताए ।

पहिलो चरणमा रगतको परीक्षण गरिने भएको छ । पहिलो चरणमा पोजेटिभ देखिएमा पुनः त्यस्ता व्यक्तिको रगत लिएर परीक्षण गरिने भएको छ ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका शंकर भण्डारीले जिल्लामा पुस २७ गतेसम्म सर्वेक्षण गरेर सकिने जानकारी दिए । परीक्षणबाट जिल्लाको हात्तीपाइलेको अवस्थाबारे जानकारी लिन सहज हुने र त्यसै अनुसार अगाडि बढिने उनको भनाइ छ ।

परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली परिचालन हुनेछ । परीक्षण दिउँसो गरिने र पोजेटिभ देखिएमा पुनः रातीको समयमा रगत लिएर परीक्षण गरिने उनको भनाइ छ ।

मानिस सक्रिय हुँदा लिइने रगतमा हात्तीपाइलेको किटाणु नदेखिने समेत उनको भनाइ रहेको छ । यसैले रातीको १० देखि २ बजेसम्ममा पुनः रगत लिइने छ । दिउँसो घाम भएको समयमा रगत लिँदा किटाणु रगतमा नदेखिने समेत भण्डारीले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले जिल्लामा लामो सयमदेखि हात्तीपाइलेविरुद्धको औषधी खाइरहे पनि हात्तीपाइले रोग न्यूनिकरण हुन नसकेको बताए । यसबारे सबै सचेत हुनु पर्ने समेत उनले बताए ।

अहिले थालिएको सर्वेक्षण कार्यलाई सबैले सहयोग गर्नु पर्ने भन्दै उनले आफ्नो तर्फबाट सबै निकायसँग सहकार्य गर्न भूमिका खेल्ने बताए । जिल्लामा विगत १२ वर्षदेखि हात्तीपाइलेविरुद्धको औषधी खुवाइँदै आइएको छ ।

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *