२०८१ बैशाख २३ गते आइतवार

छिल्लीकोटलाई पर्यटकीय हब बनाउने मेरो सङ्कल्प ः वडाध्यक्ष योगी

मुलुकमा सङ्घीयता आएसँगै समृद्धिको खोजीमा स्थानीय सरकार लागिरहेका छन् । त्यसमा माउ सरकार अर्थात् स्थानीय पालिका पनि लागिरहेको छ । तुलसीपुर उपमहानगरपालिकाको समृद्धिको आधार भनेको कृषि र पर्यटन हो । यही विषयमा तुलसीपुर उपमहानगरपालिकाको १९ वडा भौगोलिक अवस्थाले अत्यन्त दुर्गम क्षेत्र हो ।

तै पनि वडाध्यक्ष र तुलसीपुर उद्योग वाणिज्य संघको पहलले अहिले छिल्लीकोट पर्यटकीय गन्तव्य पनि बनेको छ तर अझै छिल्लीकोटको पर्यटकीय पूर्वाधार विकास हुन सकेको छैन । यसै सन्दर्भमा केन्द्रित रहेर तुलसीपुर उपमहानगरपालिका १९ का वडाध्यक्ष प्रेमनाथ योगीसँग फरककोणकर्मी यमकला भुसालले गरेको कुराकानीको सार संक्षेप ।


–सर्वप्रथम यहाँलाई स्वागत छ ।
धन्यवाद ।
–वडाध्यक्षको रूपमा काम गर्न कत्तिको सहज हुँदो रहेछ ?
सबैभन्दा पहिले त राजनीतिक सहमती, सहकार्य हुनुपर्छ । त्यसो भयो भने काम गर्न त्यसै सजिलो हुन्छ । निर्वाचित भएर आइसकेपछि अहिलेसम्म सबै तहको सहयोगले काम गर्न सहजै भएको महसुस गरेको छु ।


–तपाई निर्वाचित भएर आइसकेपछि जनताले महसुस गर्ने गरी के–के कामहरू गर्नुभयो ? ४ वटा उत्कृष्ट कामहरू बताइदिनुस न ।
कामहरू त धैरै भएका छन् तर म निर्वाचित भएर आइसकेपछि पहिलो ठूलो काम भनेको शिक्षा सुधार गरे । मेरो पहिले देखिको ठूलो काम शिक्षा नै हो । म आइसकेपछि जनताले देख्ने गरी शिक्षा सुधारेको छु । पहिले एकदमै कम नम्बर ल्याउने विद्यार्थीहरूले अहिले प्रथम श्रेणी हासिल गरेको देख्न पाए ।

त्यस्तै वडाभित्र शान्ति सुरक्षालाई कायम गर्न सफल भएका छौँ । पर्यटकीय स्थल छिल्लीकोटमा अस्थायी प्रहरी चौकी स्थापना गरिसकेपछि त्यहाँको शान्ति सुरक्षा राम्रो हुदैँ गएको छ । अहिले पनि तुलसीपुर १९ का केही ठाउँमा विद्युत नपुगेको अवस्था छ । सुंगुरखोलामा विद्युत पुगेको थिएन । त्यहाँ मैले विद्युत पु¥याएको छु । अर्को काम भनेको भाडामा सञ्चालन हुदैँ आएको वडा कार्यालयलाई स्यालापानी स्थित तोपापानीमा सार्दै छु । अहिले भवन निमार्णको काम अन्तिम चरणमा पुगेको छ ।


–छिल्लीकोटमा पर्यटकीय सम्भावना प्रशस्तै छ तर प्रगती भने सोचे अनुरूप हुन सकेन किन ? बाटोको समस्या पनि उस्तै छ, यसको बारेमा के गर्दे हुनुहुन्छ ?
सबैभन्दा पहिले त देशको स्थिति, २ वर्ष कोभिड, एक वर्ष अर्थतन्त्रका कारण क्रमागत रूपमा गत वर्ष परेको ७५ लाख बजेट हामीले पाउन सकेनौँ ।

अहिले पनि क्रमागत बजेट आउँछ भन्ने ठूलो आशामा थियौँ त्यो पनि आएन । हामीले वडा तहबाट सक्ने बजेटअनुसार बाटो अवरुद्ध बाटो खोलिरहेका हुन्छौँ । अहिले पनि सक्राम हुँदै छिल्लीकोटमा जानेबाटो खोल्ने काम भइरहेको छ । बजेट अभावले हामीले चाहेर पनि काम गर्न सकेका छैनौँ ।


–भर्खरै मात्र छिल्लीकोटमा प्याराग्लाइडिङ उडान परीक्षण सफल भयो, त्यसलाई सञ्चालन गर्न अनुमति दिनुहुन्छ कि हुँदैन ? त्यहाँ जिपलाइन कहिलेसम्म चल्छ ?
पहिलो कुरा त प्याराग्लाइडिङ उडानका लागि त्यहाँको जग्गा एग्रीमेन्ट गराउनुप¥यो । हामीले वडाबाट गर्न सक्ने सहयोग पुर्णरूपमा गछौँ । यस अघि पनि प्याराग्लाइडिङ उडानका लागि म आफैले वडाबाट अनुमति दिएको थिए । अहिले पनि उहाँहरूलाई दर्ता प्रक्रियामा गएर उडान गर्न सुझाव दिएको छु ।

त्यस्तै जिपलाइन चलाउने सञ्चालकसँग पनि मेरो छलफल भएको छ । उहाँहरूले दशैँसम्म चलाउछौँ भन्नु भएको छ । छिलीकोटमा प्याराग्लाइडिङ र जिपलाइन सञ्चालनमा आउना साथ यस ठाउँ दाङकै नमुना हुन्छ । हामीले छिल्लीकोटलाइ पर्यटकीय हव बनाउन चाहेका छौँ । यो हाम्रो वडाको सहयोगले मात्र हुन्न । यसमा प्रदेश सरकार र सङघीय सरकारले पनि सहयोग गर्नुपर्छ भन्नेमा हामी दिन–दिनै मागे गरिरहेका छौँ । किनकि छिल्लीकोट त एउटा जिल्लाको मात्र नभएर यस क्षेत्र कै हरोक दृष्टिकोणले पर्यटकीय गन्तव्य बन्न सक्छ । यसका लागि मैले प्रदेश सरकारका मुख्यमन्त्रीसँग पनि माग राखेको छु ।


–आन्तरिक स्रोतको रूपमा रहेको स्थानीय उत्पादन मालागेडीबाट कर लिने गर्नुभएको छ, छैन, सिस्टम के छ ?
हामीले अहिलेसम्म कर लिएका छैनौँ । बरु उहाँहरूलाई अप्ठयारो परेको बेला हेर्दै आएका छौँ । उद्योग नै दर्ता गरेर अनुदान लिनु भएको छैन । छिल्लीकोटमा मालागेडीसँगै अदुवा, जडिबुटीहरू प्रशस्तै छ । त्यहाँका स्थानीयबासीहरू दर्ता प्रक्रियामा गएर अनुदान लिन अझैसम्म वडा कार्यालय आउनु भएको छैन ।


–चुनावको समयमा जनतासँग गरेका बाचा के–कति पूरा गर्नु भयो ?
भर्खरै एक वर्ष भयो । चुनावी बाचाहरू क्रमागत रूपमा पूरा हुँदै छन् ।हामीले शिक्षा सुधारेका छौँ । स्वास्थ्यमा धेरै राम्रा कामहरू भएका छन् । हामीले अझै पनि वडाका सबै ठाउँहरूमा बाटो, विद्युत पु¥याउन सकेका छैनौँ । अहिले सुगुरखोलादेखि छिल्लीकोटसम्म रिङरोड बनाउँदै छौँ ।

बिजौरी रोल्पा जाने बाटोदेखि सुंगुरखोलासम्म बाटो र विद्युत पुगिसकेको छ । त्यसभन्दा माथि बाँकी छ । यस वर्ष त्यहाँको बाटो मर्मत गर्ने छौँ । त्यस बाटोको लागि प्रदेश सरकारबाट १५ लाख बजेट विनियोजन भएको छ ।


–तपाईको वडाको सबैभन्दा समृद्धको आधार के हो ?
पर्यटकीय स्थल भएकोले छिल्लीकोट नै हाम्रो समृद्धको आधार हो । त्यहाँ आन्तरिक र बाह्य पर्यटकहरू भित्र्याउन सक्यौ र राम्रो आम्दानी लिन सक्यौ भने हाम्रो आधार त्यही नै हो । अरु केही पनि छैन ।


–बजेट थोरै भएर काम गर्न समस्या भएको छ, छैन ? बजेटको ब्यालेन्स सन्तुलन कहिले हुन्छ ?
पक्कै पनि थोरै बजेट आउँदा धेरै नै समस्या छ । हामीले जनताले भनेअनुसार काम गर्न सकिरहेका छैनौँ । हाम्रो वडाभित्र धेरै विकट ठाँउहरू भएकोले थोरै रकमले एउटा कामको लागि समिति गठन गर्न गा¥हो हुन्छ ।

यस अघिको वर्ष ७० लाख बजेट भनेपछि ५० लाख मात्र पाएका थियौँ । अहिले त्यो पनि घटेर ३४ लाख मात्र पाएका छौँ । देशको आर्थिक नसुध्रिएसम्म बजेट बढ्ने सम्भव नै छैन ।


–आगामी चार वर्षमा तपाइँको वडामा के–के सुधार देख्न पाउँछौ त ?
अबको ४ वर्ष भित्रमा वडाका सबै ठाउँमा बाटो पु¥याउछु । विद्युत नपुगेका झण्डै ५० घरधुरीमा विद्युत बाल्न सफल हुनेछौँ । बाटो बनिसकेपछि ०८१ सालमा वडा कार्यालय तोपापानीमा साछौँ ।

बिजौरी, स्यालापानी हुँदै कालिका, मालिका मन्दिर जानेबाटो मर्मत गर्ने छौँ । त्यस्तै शिक्षा, स्वास्थ्यसँगै कृषि क्षेत्रको सुधारका लागि पनि प्राथमितामा राखेर काम गछौँ ।


–अन्तमा केही भन्नु छ कि ?
हामीले यस वडालाई पर्यटकीय गन्तव्य बनाउन चाहेका छौँ । त्यसका लागि सहज सडक हाम्रो पहिलो माग हो । छिल्लीकोटलाई हामीले तीन तिरबाट जोड्न चाहिरेका छौँ । दुधरास हुँदै सक्रामको बाटो, बिजौरी हुँदै स्याउलापानीको सडक र सुंगुरखोलाबाट पनि हामीले छिल्लीकोटलाई जोड्न चाहेका छौँ ।

त्यसैगरी रोल्पा र सल्यानका सडकलाई पनि छिल्लिीकोटमा जोड्नका लागि पहल भइरहेको छ । यो अवस्थाले छिल्लीकोटको पर्यटकीय र धार्मिक गन्तव्य हुन्छ भन्नेमा मलाई विश्वास छ ।

किनकि म पनि यसै वडाको जनप्रतिनिधि भएका हैसियतले यो क्षेत्रको विकार र समृद्धिका लागि प्रतिवद्ध छु । साथै मैले छिल्लीकोटलाई सबै क्षेत्रबाट जोड्नका लागि पनि रोल्पाको सिमाका पालिकासँग समेत समन्वय गरिरहेको छु । यसमा आममिडिया कर्मी र नागरिकको पनि साथ र सहयोगको अपेक्षा गरिरहेको छु ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *