काठमाडौँ ,भदौ १० । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइका लागि न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको छ। यो मुद्दाको सुनुवाइका लागि न्यायाधीश पण्डितको इजलासमा भने पहिलोपटक पेसी चढेको हो।
यसअघि पटकपटक पेसी चढे पनि यो मुद्दामा अन्तिम सुनुवाइ हुन सकेको छैन। आइतबार पाँचौं नम्बरमा पेसी तोकिएको छ। आज सुनुवाइ भए पनि आजै फैसला आउने सम्भावना भने कम छ।
न्यायाधीशले हेर्दाहेर्दैमा राखेर सुनुवाइ नगरे पुनः अर्को पेसी तोकिने छ। आइतबार मुद्दाको सुनुवाइ सुरु भएर हेर्दाहेर्दैमा राख्ने सम्भावना पनि हुन्छ। यसो भएमा भने सन्दीप लामिछाने तत्काल पाकिस्तान जान पाउने छैनन्।
एसिया कप खेल्न उनलाई आइतबार राति नै नभए सोमबारबाट पाकिस्तान पठाउने गरी क्यानले तयारी गरिरहेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए।
यदि फैसला भएर दोषी ठहर भएमा भने सन्दीप एसियाकप खेल्न जान पाउने छैनन्।
सन्दीपका कानुन व्यवसायीले यसअघि नै सन्दीपलाई पाकिस्तान पठाउने तयारी गर्न नेपाल क्रिकेट संघ ९क्यान० लाई जानकारी गराइसकेका छन्।