काठमाडौँ ,भदौ १० । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका २ सय ९० जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले आइतबार २९० जनालाई प्रतिवादी बनाउँदै र्कीते गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो। काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार प्रतिवादी बनाइएकामध्ये १७ जनालाई मात्रै पक्राउ गरिएको र बाँकी २७३ जनालाई फरार सूचीमा उल्लेख गरिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कीर्ते र संगठित अपराधमा मुद्दा चलाउन सिफारिस गर्दै रायसहितको प्रतिवेदन दिएको थियो। तर सरकारी वकिलले संगठित अपराधमा मुद्दा नचलाउने निर्णय लिएको छ।
दाहालका अनुसार पक्राउका रूपमा अदालतमा पेश गरिएका १७ जनाको सोमबारदेखि थुनछेक प्रयोजनका लागि बयान थालिनेछ। बाँकी २७३ जनाको भने म्याद तामेलको प्रक्रिया सुरु गरिने उनले जानकारी दिए।
सरकारी वकिल कार्यालयले बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्रीलाई प्रतिवादी बनाएको छ। मन्त्रीहरूमा चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र सञ्जय शाह छन्। सरकारी वकिलले ६ पूर्वसचिवसहितलाई पनि प्रतिवादी बनाएको छ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ माघमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
विशेषमा मुद्दा विचाराधीन रहेकै अवस्थामा सिआइवीले गरेको अनुसन्धानका आधारमा काठमाडौँ जिल्ला अदालतमा पुनः मुद्दा दर्ता गरिएको हो।