२०८२ माघ ४ गते आइतवार

बंगलादेशी नागरिकलाई बन्धक बनाई फिरौती असुल्ने गिरोह पक्राउ

काठमाडौँ,साउन २८ । बंगलादेशी नागरिकहरुलाई वैदेशिक रोजगारीको लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौंमा बन्धक बनाउने गिरोहका सात व्यक्ति प्रक्राउ परेका छन्।

बंगलादेशी नागरिकलाई बन्धक बनाई उनीहरुको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बंगलादेशी र नेपाली नागरिकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।

कार्यालयले आरोपितहरुलाई पक्राउ गर्नुका साथै बन्धक बनाइएका ६ जना बंगलादेशी नागरिकलाई उद्धारसमेत गरेको छ।

गिरोहले वैदेशिक रोजगारीमा लाने भन्दै बंगलादेशबाट नेपाल ल्याई काठमाडौंका विभिन्न स्थानका होटल तथा सेफ हाउसमा बन्धक बनाई राख्ने र परिवारसँग पैसा माग्ने गरेको थियो।

पक्राउ पर्नेहरुमा बंगलादेशी नागरिकहरु ४७ वर्षीय अमिर हुसेन, ३७ वर्षीय एमडी मोसिउर, २१ वर्षीय जहाङ्गीर आलम, ३८ वर्षीय सलिम मियाँ र २१ वर्षीय तहमिना बेगम रहेका छन्।

त्यसैगरी, सिन्धुपाल्चोक बलेफी– ६ कि २७ वर्षीया तारा नेपाली र इलाम चुलाचुली– ४ कि ३३ वर्षीया रोशनी राई रहेका छन्।

वरिष्ठ प्रहरी उपरिक्षक डा। मनोज केसीका अनुसार उनीहरुले बन्धक बनाएका ६ बंगलादेशी नागरिकको उद्धार गरिएको छ।

कालिमाटीडोलमा रहेको मेमोरियल गेष्ट हाउसबाट एमडि नाजमुल, एमडि इयासिन, इब्राहिम हुसैन र एमडि अल अमिनलाई तथा हरिसिद्धिको एक घरबाट राजोन र राजोन फरहाद हुसैनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *