पाल्पा, साउन १५ । केही दिनदेखि परेको वर्षासँगै आएको बाढीपहिरोले पाल्पाको तिनाउ गाउँपालिका–१, कचलका सात घरपरिवार विस्थापित भएका छन् ।
घर पहिरोले बगाएपछि स्थानीय डिलबहादुर बगालेको परिवार विस्थापित भएको कचलका वडाध्यक्ष भुवनसिंह चिदीले जानकारी दिए ।
यस्तै, पार्वती अर्घाली, भगवती अर्गाली, रामबहादुर अर्गाली, लीलाकुमारी राना, लालबहादुर झाँक्री, मोहन झाँक्रीको घर जोखिममा रहेको उनले बताए ।
यस्तै, कचलको धन्सार गाउँको सुस्मा बगालेको परिवार पनि विस्थापित भएको छ । बाढी पहिरोबाट कचलको ५० घर बढी परिवार प्रभावित बनेका छन् । कचलको पाँचचोट र ओखलढुङ्गा गाउँसमेत बाढी र पहिरोले प्रभावित बनेको छ ।
यस्तै, कचलको बुढीकोट, ठुलीउदाङ्, कुँडापानी पनि पहिरोको जोखिममा वडाध्यक्ष चिदीले बताए ।
गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बाढी पहिरोले पालिकाले निर्माण गरेका भौतिक संरचना, व्यक्तिगत घर, सार्वजनिक सम्पत्तिमा क्षति पुगेको बताए । उनले स्थलगत अध्ययन गरेर क्षतिको विवरण सङ्कलन भइरहेको बताए।
बाढी पहिरोका कारण एक सातादेखि कचल गाउँपालिकाको केन्द्रदेखि सम्पर्कविच्छेद बनेको स्थानीय हिमाल गाहाले बताए ।
बाटोमा सवारीसाधन सञ्चालन गर्न नसक्ने भएपछि स्थानीय बासिन्दा तीन घण्टा पैदलयात्रा गरेर पालिकाको केन्द्र दोभानसम्म आउने गरेका छन् ।