२०८२ माघ ३ गते शनिवार

बाढीपहिरोले हुम्लामा सिंगो बस्ती नै जोखिममा

हुम्ला,साउन १३ । हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपको बस्ती जोखिममा परेको छ। गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले बस्ती जोखिममा परेको हो।

सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) ले गएराति ११ बजेदेखि परेको पानीसँगै आएको बाढीपहिरोले उक्त बस्ती नै जोखिममा परेको जानकारी दिए।

उनले भने, ‘त्यहाँ ३ सयभन्दा बढी घरधुरी छन्। गाउँका मान्छेहरु बाहिर निस्किन नसेकेको अवस्था छ। वरिपरिका खोलानालाहरु बढेर गाउँ पसेका छन् भने भएका पुलहरु सबै बगेका छन्। अहिले मौसम सुधारिँदै गए पनि बाढीपहिरो रोकिएको छैन।’

उनले एकिन डाटा आउन बाँकी रहेको बताए। साथै उपाध्यक्ष कार्कीले हालसम्म मानवीय क्षति भने कुनै नभएको तर, बाढीपहिरोले सबै उत्पादन जग्गा पुरेको जानकारी दिए।

यस्तै, सर्केगाड गाउँपालिका वडा नम्बर २ रिप बस्तीसँगै वडा नम्बर ६ मा पर्ने जिउँसी र ८ को एउटा गाउँ गएरातिदेखिको अविरल वर्षाका कारण खोलामा बढेको बाढी र पहिरोले घेरिएको जानकारी प्राप्त भएको कार्कीले बताए।

यस्तै, हुम्लामा सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले गाउँ माथिबाट पहिरो बढेका कारण उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर आउने तयारीमा रहेको जानकारी दिए।

यता कर्णाली प्रदेश सरकारले नागरिकलाई स्थान्तरणका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको प्रदेश सरकारका कानुनमन्त्री कृष्ण जीसीले बताए।

उनले नागरिकलाई सुरक्षित स्थानमा सार्न नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा रहेको र केही समयमा हुम्ला उड्ने जानकारी दिए।

प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *