२०८१ बैशाख २१ गते शुक्रवार

कपुरकोट गाउँपालिकाका वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

सल्यान,साउन १० । सल्यानको कपुरकोट गाउँपालिकाले पहिलो पटक वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको छ ।

गाउँपालिकाभित्र रहेका अशक्त, ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई मध्यनजर गर्दै सबै वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यको थालनी गरिएको हो ।

गाउँपालिकाको वडा नं. ५ बाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दै यस कार्यको थालनी गरिएको छ ।

बैंकमा आउ–जाउ गर्दा अशक्त, ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई सास्ती भएपछि गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको हो ।

वडाबाटै सामाजिक सुरक्षा भत्ता वापतको रकम पाउन थालेपछि लाभग्राही उत्साहित बनेका छन् । ग्रामीण भेगबाट बैंकमा भत्ता लिन जान निकै कठिन परेको बेला वडाबाटै भत्ता बुझ्न पाएपछि उनीहरुको मुहारमा खुशी झल्किएको हो ।

बैंकमा घण्टौंसम्म लाइन बसेर बृद्घभत्ता बुझ्दै आएका कपुरकोट गाउँपालिका–५ सिस्नेरीका ७१ वर्षीय लोकबहादुर रोका यस पटकको चौमासिकको भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित छन ।

त्यस्तै कपुरकोट गाउँपालिका–५ डाँडागाउँकी ७४ वर्षीया उत्तिमा पुन पनि वडाबाट वृद्धभत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर आँगनमै आएको जस्तो लागेको बताउनुभयो ।

यसअघि कपुरकोट वजार पुगेर सामाजिक सुरक्षा भत्ताको रकम बुझ्ने गरेकोमा वडामै सामाजिक सुरक्षा भत्ता पाएपछि सबै लाभग्राही खुशी भएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरणको काम वडा नं.५ बाट भएको र यसै महिनाभित्र गाउँपालिका भित्रका छवटै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताए।

नागरिकको सहजताको लागि तीन वटा बैंकसँग सम्झौता गरेर भत्ता वितरण गर्न थालिएको हो ।

जसमा कपुरकोट गाउँपालिका–१ र २ मा ज्योती विकास बैंक, वडा नं। ३, ४ र ५ मा नेपाल इन्भेष्टमेन्ट मेघा बैंक र वडा नं। ६ मा कुमारी बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने छन् ।

नागरिकको समस्यालाई मध्यनजर गर्दै सहजताको लागि तीनवटा बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले बनाए।

सामाजिक सुरक्षा भत्ता वडामै पाउँदा धेरैलाई राहत मिलेको र बैंकमा आएर लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ ।

गाउँपालिकामा तीन हजार तीन सय १५ लाभग्राही रहेका छन् । ती मध्ये ज्येष्ठ नागरिक आठ सय ९० जना, एकल महिला चार सय ७१ जना, अपांगता भएका व्यक्ति एक सय १७ जना र बालपोषण पाउने बालबालिका एक हजार आठ सय ३७ जना रहेका छन् ।

अध्यक्ष पुनले चुनावमा गरेको प्रतिवद्धता अनुसार नागरिकको सहजताको लागि वडा कार्यालयबाट नै सामाजिक सुरक्षाभत्ता वितरणको व्यवस्था मिलाइएको बताए।

वडाबाट नै भत्ता वितरण गर्दा लाभग्राहीको यातायात वापतको खर्च बचत हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *