जुम्ला,असार १८ । जुम्लामा अन्तरजातीय विवाह गरेपछि केटी पक्षले केटापक्षको घरमा आगजनी गरेका छन्।
आइतबार बिहान तातोपानी गाउँपालिका(४ गिदीखोलास्थित भरत नेपालीको घरमा आगजनी भएको हो। उक्त घरमा आगजनी गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय हिक्मत गिरीलाई पक्राउ गरेको छ।
उनलाई आइतबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हद कार्कीले जानकारी दिए। हिक्मतमाथि आगजनी कसूरमा अनुसन्धान भइरहेको छ।
हिक्मतविरूद्ध आइतबार नै भरतले प्रहरीमा जाहेरी दिएका थिए। भरतले उक्त घर चार वर्षअघि बनाएका थिए। तर उनी जुम्ला बजारमा बस्छन्। उक्त घरमा भरतका साइँला भाइ तिर्थ र मुकुन्द बस्थे। तिर्थ कामको सिलसिलामा शनिबार जुम्ला बजारमा गएका थिए।
घरमा आगजनी हुनुको कारण भरतका कान्छा भाइ मुकुन्दले गरेको अन्तर्जातीय विवाह हो। भरतका अनुसार २२ वर्षीय मुकुन्द नेपालगन्जमा अध्ययन गरिरहेका थिए। तर केही महिनादेखि उनी गाउँमै थिए। त्यसैबीच उनले हिक्मतकी अन्दाजी १४ वर्षीया बहिनीलाई असार ११ गते भगाएका थिए।
तातोपानी(४ का वडाध्यक्ष अम्मरबहादुर रोकायाका अनुसार आइतबार बिहान २/३ बजे नै आगलागी सुरू भएको थियो। तरछिमेकीले ढिलो गरीमात्रै थाहा पाएका थिए। त्यसपछि हल्ला भएपछि स्थानीय जम्मा भएका थिए। स्थानीयहरूले मिलेर आगोलाई नियन्त्रणमा लिएको थियो। प्रहरीलाई पनि त्यसपछि पौने ६ बजेतिरमात्रै जानकारी गराइएको थियो।
पक्राउ परेका हिक्मतले पनि आफैंले आगजनी गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। ‘विवाहकै कारणले आगजनी गरेको भनेर हामीसमक्ष प्रारम्भिक रूपमा भनेका छन्,’ डिएसपी कार्कीले भने। यता मुकुन्द र उनीसँग विवाह गरेकी नाबालिग किशोरी भने सम्पर्कविहीन छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।