२०८२ माघ १० गते शनिवार

पहिरो जाँदा कालीगण्डकी करिडोर र रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी,असार १६ । लगातार वर्षाका कारण पहिरो खसेपछि गुल्मीको रुद्रवेणी–वामीटक्सार र कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ । रुद्रवेणी–वामीटक्सार सडक खण्ड अन्तर्गत सत्यवती गाउँपालिका-५ को बाँदरे भिर र ६ को डहरेमा पहिरो खसेपछि आज बिहानदेखि यो सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

त्यसैगरी वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोर पनि बिहानैदेखि अवरुद्ध भएको छ । यो सडक अन्तर्गत कालीगण्डकी गाउँपालिकाको हर्मिचौर र अर्बेनीको बीच भागमा सडक माथिबाट ठूला चट्टानसहित पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो ।

अवरुद्ध सडक सञ्चालनका लागि गाउँपालिकाहरुले प्रयास गरे पनि वर्षा नरोकिएका कारण पहिरो हटाउन समस्या परेको बताइएको छ । त्यसैगरी आज बिहानदेखि अवरुद्ध बनेको रिडी–तम्घास सडक खण्ड भने केही समय अघिदेखि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी सहायक निरीक्षक ओमबहादुर भलामीले जानकारी दिए ।

लगातारको वर्षाका कारण खोला तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरोग्रस्त क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन र सुरक्षित ठाउँमा बसोबास गर्न आग्रह गरेको छ ।

वर्षा भइरहेको समयमा मानिसहरुलाई लामो तथा छोटो दूरीको यात्रा नगर्न प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले आग्रह गरेका छन ।

वर्षाका कारण कतिपय ठाउँमा सडक भासिएको र सडक माथिबाट पहिरो खसेका कारण जिल्लाका दुई दर्जनभन्दा बढी ग्रामीण सडकहरु समेत अवरुद्ध भएका छन् ।

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *