हुम्ला,असार १६ । हुम्लाको सिमकोट गाउँपालिकामा आगलागीबाट एक घरमा क्षति भएको छ।
सिमकोट गाउँपालिका–८ को लिगुडे खेतस्थित जसवीर शाहीको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो।
प्रहरीका अनुसार शनिबार तीन तले कच्ची घरमा आगलागी हुँदा ११ मध्ये सात वटा कोठामा क्षति पुगेको छ। आगलागीबाट २४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
घरमा रहेका लत्ताकपडा, अन्नपात, सुनचाँदी र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताए।
प्रहरी चौकी धारापोरीबाट गएको सात जना प्रहरीको टोली र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएका थिए। आगलागीबाट मानवीय तथा पशुचौपायको भने क्षति भएको छैन।
प्रकाशित मिति : २०८० असार १६ गते शनिवार