२०८१ मङ्सिर २९ गते शनिवार

वायु प्रदुषण बढेपछि आवश्यक सावधानी अपनाउन विज्ञको सुझाव

काठमाडौँ,बैशाख ३ । काठमाडौँ विश्वकै बढी प्रदुषण हुने शहरमा पहिलो नम्बरमा पुगेपछि विज्ञहरुले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले काठमाडौँलाई संसारकै प्रदुषित शहरको सूचीको पहिलो स्थानमा राखेको हो।

शनिबार साँझबाट काठमाडौँ संसारमा नै बढी प्रदूषण भएको शहरमा पहिलो, दोस्रो र तेस्रो स्थानमा घटबढ भइरहेको छ।

वायु प्रदुषण बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनैपरे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरुको सुझाव छ। पछिल्लो समय वनमा लागेको डढेलो, भारतको उत्तरप्रदेशमा बालिएको गहुँको भुसको धुवाँको असर काठमाडौँसहित नेपालका विभिन्न शहरहरुमा परेको विज्ञहरुले बताएका छन्।

जलवायु तथा विपद् विज्ञ डा.धर्म उप्रेतीले बागमती प्रदेश र वरपरको वनको आगलागीका कारण काठमाडौँ प्रदूषित शहरमा पहिलो नम्बरमा परेको बताए। उनले प्रदूषण बढ्नुमा आगलागी र सडकको धुवाँधुलो प्रमुख कारण रहेकोप बताए।

उप्रेतीले नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम रहेकाले पनि हावा वहन नपाएको र हावा नबहँदा उपत्यकामा प्रदुषण बढेको बताए। आजबाट नै पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भए पनि प्रदूषण हट्न भने अझै केही दिन लाग्ने बताए। उनले अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तोकेको भन्दा २२ गुणा बढी प्रदूषण काठमाडौँमा रहेको उल्लेख गरे।

जलवायु तथा विपद् विज्ञ उप्रेतीले प्रदूषणबाट बच्नका लागि सरकारले आमनागरिकहरुलाई मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्नुपर्ने सुझाव दिए। उनले केही दिनको लागि धुँवा निकाल्ने सवारीसाधन र मापदण्ड पालना नगरेका सवारीसाधन सञ्चालन गर्न नदिन सरकारसँग आग्रह गरे।

‘विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा २२ गुणा बढी प्रदुषण काठमाडौँमा बसेको छ, यो हिजो २५ गुणा बढी थियो। एउटा कुरा हामी सबैले गर्नुपर्ने र सरकारले पनि आग्रह गर्नुपर्ने कुरा मास्कको प्रयोगलाई अनिवार्य गर्नुपर्छ,’ उनले भने।

उनले सडक निर्माणका क्रममा सडक अलपत्र बनाइँदा धुवाँ र धुलो धेरै भएकाले सडक कालोपत्रे गर्न र कालोपत्रे गर्न नसके सडक भत्काउने काम बन्द गर्नुपर्ने बताए। वायु प्रदुषण्का कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सरलगायतका समस्याहरु बढ्ने उनको भनाइ छ।

प्रकाशित मिति : २०८० बैशाख ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *