सिसहनिया, फागुन २० । दाङको राप्ती गाउँपालिकामा स्वास्थ्य चौकीमा सुत्केरी हुने आमालाई उपाध्यक्ष कोसली दिन थालिएको छ ।राप्ती गाउँपालिकामा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाईमा बच्चा जन्माउने आमा र नवजात सिशुलाई उपाध्यक्ष कोसली दिन थालिएको हो ।
विहीवार एक कार्यक्रमको आयोजना गरि लालमटिया र सिसहनिया स्वास्थ्य चौकीहरुबाट कोसेली दिने कार्यक्रमको उद्घाटन गरिएको छ ।गाउँपालिकाकी उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले सुत्केरीलाई कोसेली स्वरुप आवस्यक सामाग्री प्रदान गरि कार्यक्रमको सुरुवात गरेकी हुन ।
उपाध्यक्ष कोसेली अन्तर्गत पेटीकोट , पेन्टी , नङकट , जोन्सन वेवी सोप, जोन्सन वेवी पाउडर, जोन्सन वेवी ओइल एक÷एकवटा वितरण गरिएको हो । त्यस्तै सेनिटरी प्याड एक पाकेट, लुगाधुने सर्फ आधा किलो प्रदान गरिएको छ । गाउँपालिका अन्तर्गतका बर्थिङ सेन्टरमा प्रसुति गर्न आउनेलाई उपाध्यक्ष कोसेली दिन थालिएको छ । कोसेली सबै प्रसुतिलाई यथास्थानमै दिने ब्यवस्था मिलाईएको छ ।
संस्थागत प्रसुतिलाई थप प्रोत्साहित गरी मातृ मृत्यु तथा नव शिशु मृत्यु कम गर्न उपाध्यक्ष कोसेली कार्यक्रम संचालन गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।
राप्ती गाउँपलिकामा संस्थागत सुत्केरी बृद्धी गरी आमा तथा नवजात सिशु मृत्युलाई कम गर्न आमा सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यक्रम संचालन गरिंदै आइएको छ । आमा सुरक्षा कार्यक्रम अन्तर्गत बर्थिङ सेन्टरहरुबाट निःशुल्क २४ सै घण्टा प्रसुति सेवा, न्यानो झोला वितरण, प्रोटोकल अनुसार गर्भजाँच भएकालाई गर्भवति उत्प्रेरणा, संस्थागत सुत्केरी हुने हरेक महिलालाई यातायात खर्च, ३५ दिन भित्र बच्चाको जन्म दर्ता गराए एक हजार उपलब्ध गराउँदै आइएको छ ।
सून्य होम डेलिभरी वडा घोषणा कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्दै शतप्रतिशत संस्थागत प्रसुति गराई असुरक्षित प्रसुतिबाट हुने मृत्युको जोखिम कम गरी मातृ मृत्यु दर घटाउने प्रयास स्वरुप अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीले बताए ।
घरमा हुने प्रसुति घटाई संस्थागत प्रसुतिलाई प्रोत्साहन गर्ने, मातृ मृत्यु तथा नवशिशु मृत्यु घटाउन, प्रोटोकल अनुसारको ४ पटक गर्भ जाँचलाई प्रोत्साहन गर्न कोसेली कार्यक्रम सुरु गरिएको अध्यक्ष सुबेदीले जानकारी दिए ।
कार्यक्रम उद्घाटनका क्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, वडा नं. १ का वडा अध्यक्ष ताराबहादुर डिसी, वडा नं. ५ का वडा अध्यक्ष गोवर्धन रावत, निमिक्त प्रमुख प्रशासकीय अधिकृत महेश अधिकारी, स्वास्थ्य चौकी प्रमुख धनबहादुर खड्का लगायत सहभागि थिए ।