तुलसीपुर, फागुन १२ । नारी दिवसको अवसरमा तुलसीपुरका सरकारी विद्यालयमा अध्यनरत झन्डै दूई सय बालिकालाई साईकल वितरण गरिने भएको छ ।
फागुन २४ गते १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ८ देखि कक्षा १२ सम्म अध्यनरत बालिकालाई ती साईकल प्रदान गर्न लागिएको छ । ती साईकल दाताको सहयोगमा वितरण गरिने मेयर घनश्याम पाण्डेले बताए ।
तुलसीपुर उपमहानगपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाले बुधवार आयोजना गरेको छलफल कार्यक्रममा मेयर पाण्डेले तुलसीपुरलाई साईकल सहरका रूपमा विकास गर्ने उद्देश्यका साथ साईकलको प्रयोग ब्यापक बनाउन बालिकालाई साईकल वितरण गर्न लागिएको बताए ।
त्यस्तै उनले साईकल बढी चलाउने व्यक्तिलाई पुरस्कार प्रदान गरिने बताए । पुरस्कारका बारेमा भने उनले केही खुलाएनन् ।
मेयर पाण्डेले नारी दिवसमा मोबाईल एप्लिकेसन सार्वजनिक गर्न लागिएको जानकारी दिदै सोही एप्लिकेशनका आधारमा कस्ले बढी साइकल चलाएको रहेछ ? भनेर पत्ता लगाइने बताए ।
युएसएआइडीको साझेदारी–संघीयता सहयोग कार्यक्रमकी तुलसीपुर प्रमुख विश्वमनी खनालले त्यसक्रममा आफुहरुको संस्था साईकल सहयोग गर्न तयार रहेको बताइन । अन्य केही व्यक्ति र संघ संस्थाहरुले पनि साईकल सहयोगको घोषणा गरेका थिए ।
नगर उपप्रमुख माया आचार्यको अध्यक्षता भएको कार्यक्रममा महिला अधिकारकर्मी शुष्मा गिरी, महिला मानवअधिकार रक्षक संजालकी पदमा चौधरी, ओरेककी कल्पना चौधरी, सिडका माधव चौधरी लगायतले साईकल वितरणमा सहयोग गर्ने बताएका थिए ।
सोही अवसरमा नारी दिवसलाई सफल बनाउन उपमेयर आचार्यको संयोजकत्वमा ८ सदस्यीय तयारी समिति गठन गरिएको शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिइन ।