२०८२ माघ १ गते बिहिवार

बिपी कोइरालाको जन्मजयन्तीको अवसरमा कांग्रेसले बिपी साहित्य महोत्सव, २०८० गर्ने

काठमाडौँ ,भदौ ११ । नेपाली कांग्रेसले संस्थापक नेता बिपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्ने भएको छ।

कांग्रेसले बिपी कोइरालाको भदौ २४ गते परेको ११० औँ जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्न लागेको हो।

कांग्रेस केन्द्रीय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा भदौ २४, २५ र २६ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा बिपी साहित्य महोत्सव हुने कांग्रेसका सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

महोत्सवमा सम्भाषण हुने र महोत्सवका सत्रहरुअन्तर्गत मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी, बिपीका आख्यानमा मधेस, बिपीका दृष्टिमा बिपी, बिपीले नपाएका १५ वर्ष शिर्षकमा चल्ने भएका छन्।

त्यस्तै, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बिपी, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, युवा पुस्तामा बिपी पठन र परिवारले बुझेका बिपी शिर्षकमा समेत सत्रहरु चल्ने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए।

महोत्सवमा कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनीसमेत हुने उनले बताए।

कांग्रेसले महोत्सवमा उपस्थितिका लागि प्राज्ञिक व्यक्तित्वहरु, बुद्धिजीवी, अध्येता तथा राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्ने सबैलाई अनुरोध गरेको छ।

कार्यक्रमको विस्तृत विवरण, निर्धारित विषय, वक्ता एवं सहजकर्ता र महोत्सवको कार्यतालिका छिट्टै सार्वजनिक गर्ने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए।

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *