दाङ, मंसिर ४ । दाङको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले ४ करोड बजेटसहितको विकासे योजना सार्वजनिक गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत ४ करोड बजेट मध्य केसीले सबैभन्दा बढी अमर मावि उरहरीको पशु विज्ञान भवन निर्माणको लागि ५० लाख र बबई गाउँपालिकाको वडा नं. ४ र ५ पर्ने आदर्श नगर नहर विस्तारको लागि ५० लाख रुपैंया बजेट छुट्याएका छन् ।
तत्कालिन नेकपा एमाले वाट निर्वाचित प्रतिनिधिसभा सदस्य केसीले आफ्नो क्षेत्रमा सबैभन्दा धेरै रकम सिंचाईको क्षेत्रमा खर्चिएको बताएका छन् । सिंचाईमा कुल १ करोड ६० लाख रकम छुट्याइएको छ भने त्यसपछि बढी रकम सडक विस्तारको लागि १ करोड छुट्याएको केसीले फरक कोणलाई बताए । शिक्षा क्षेत्रको विकासको लागि ७० लाख, विभिन्न भवन निर्माण गर्न ४५ लाख, खानेपानीको क्षेत्रमा ३५ लाख बजेट छुट्याएको उनले बताए ।
कुल ३६ वटा वडा रहेको निर्वाचन क्षेत्र नं. ३ मा २० वटा योजनामा मात्रै बजेट विनियोजन गरिएको हुँदा सबै वडाहरुमा भने बजेट पुग्न सकेको छैन । त्यसले आफ्नो वडामा बजेट नपरेकाहरु भने रुष्ट बनेका छन् । तर प्रतिनिधिसभा सदस्य केसीले भने १० लाख भन्दा तत्लो सिलिङका योजना छनौंट गर्न नपाइने व्यवस्थाले गर्दा जम्मा २० वटा योजना मात्रै छनौट गरिएको जानकारी दिए ।
केसीले छनौट गरेका अन्य योजना र बजेटहरुमा तुलसीपुर ६ एयरपोर्टदेखि निरंकारी भवनसम्म जाने सडक निर्माण गर्न ३० लाख,तुलसीपुर १० को नयाँगाउँमा खानेपानी विस्तार गर्न १५ लाख, तुलसीपुर १ देबीस्थानमा भवन निर्माण गर्न २० लाख, तुलसीपुर १५ मा सिंचाई योजनाको लागि १५ लाख, तुलसीपुर ८ मा भ्यूटावर निर्माण गर्न १५ लाख, तुलसीपुरको त्रिशिद्धेश्वरी मन्दिरमा खानेपानी योजना गर्न १० लाख रहेको छ ।
त्यस्तै अन्य विनियोजित बजेट मध्य ववई गाउँपालिका वडा नं. ३ हंसपुर धनवाँस नहर निर्माण गर्न १५ लाख, ववई गाउपालिका चरकमटिया खानेपानी योजना निर्माण गर्न १० लाख, दंगिशरण ३ रावतगाउ निउरी पाखा लिफ्ट सिंचाई योजनाका लागि २० लाख, दंगिशरण गाउँपालिकाको मायाखोला सिंचाई योजना निर्माण गर्न १५ लाख व्यवस्था गरिएको छ ।
त्यस्तै शान्तिनगरमा थारु साउने सिंचाई योजना निर्माण गर्न २० लाख, शान्तिनगर ६ पाँचमौजा सिंचाई योजना नहर निर्माण गर्न २० लाख, शान्तिनगर २ सिमलबोट हुदै कालीदमार जोड्ने सडक विस्तार गर्न १० लाख, उमावि सिम सुन्दरपुर कृषि क्याम्पसको पोखरी निर्माण गर्न १० लाख र तुलसीपुर २ को बुद्धनगर टोलको उत्तरतर्फ सडक स्तरोन्नतिको गरी कमलपोखरी जोड्ने १५ लाख रुपैया विनियोजन गरिएको प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीका स्वकिय सचिव सन्तोष वलीले जानकारी दिए ।