२०७९ असोज २० गते बिहिवार

‘इमोशनल व्ल्याकमेलिङ’ टरिगाउँ एयरपोर्ट

तुलसीपुर, २४ साउन । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थल अर्थात जिल्लाको एकमात्रै ‘दाङ विमानस्थल’को सुदृढीकरण तथा धावन मार्ग विस्तारका लागि भनेर सरकारले यस पटक १ करोड ९४ लाख बजेट बिनियोजन गरेको छ । त्यो खबर सुन्दा पनि जिल्लाबासी खुसी भएका छन् । अब टरिगाउँ एयरपोर्टको विकास हुन्छ कि ? भन्ने त्यसले झिनो भए पनि आशाको सञ्चार भएको छ । यद्यपि यसलाई कतिपयले ‘हात्तीको मुखमा जिरा’को संज्ञा दिइरहेका छन् । एयरपोर्टको विस्तार र विकासका लागि त्यति बजेट थामथुम पार्ने तथा दङालीलाई शान्त पार्ने चालबाजीको रुपमा मात्रै अथ्र्याएका छन् ।

यसअघि पनि धेरै पटक यसैगरी बजेट विनियोजन भएको चर्चा भने नभएको होइन । काम भने त्यसअनुरुप हुँदै भएन । त्यसकारण आशंकाहरु गर्ने ठाउँ छ । तर सकारात्मक रुपमा लिने हो भने र भनेअनुरुप काम भएमा यो टरिगाउँ एयरपोर्टको विस्तार विकासका लागि एउटा गतिलो सुरुवात हुनसक्छ ।

आगे काम हुन्छ कि हुँदैन ? त्यो शंकाकै गर्भमा छ । हालसालै तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख तथा नेकपा एमालेका नेता टीकाराम खड्का र तुलसीपुर निवासी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी सँगै काठमाडौंमा एयरपोर्टकै विषयमा पर्यटन मन्त्रालयमा पुगेर मन्त्रीसँग टरिगाउँ एयरपोर्टको धावन मार्ग विस्तार तथा विकासका लागि पुगेको देखियो । समाजिक सञ्जालमा पोष्टिएका तस्विरहरु देख्नेहरुले यसलाई सकारात्मक रुपमा लिएका छन् । विकासमा राजनीति हुनुहुँदैन भन्दै प्रशंसाका शब्दहरु खर्चिएका छन् ।

किनकि अहिलेसम्म टरिगाउँ एयरपोर्टबारे राजनीति मात्रै भइरहेको छ । कसले जस लिने ? होडबाजी चलिरहेको छ । हरेक निर्वाचनका क्रममा सबै जसो दलहरु र तिनका उम्मेदवारले निर्वाचन जित्ने र सर्वसाधारणलाई इमोशनल ब्याकमेलिङ गर्दै ‘भोट क्यास’ गर्ने एउटा प्रमुख माध्यम एयरपोर्टलाई बनाउँदै आएको तथ्य कतै छिपेको छैन । तर, जितेपछि कुनैपनि नेता वा दलले बाचा गरेअनुरुप पटक्कै काम गरेनन् । यस्तो बेला स्थानीय सरकार प्रमुखले फरक दलका नेतालाई गुहारेर एयरपोर्टका लागि मन्त्रालय पुग्नु प्रशंसनीय र सकारात्मक पक्ष मान्नुपर्छ ।

२०११ सालदेखि विमान सेवा सुरु भएको टरिगाउँ एयरपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो पुरानो एयरपोर्ट मान्न सकिन्छ । ६८ बर्षसम्म यो एयरपोर्टको अवस्थामा कुनै पनि उल्लेखनीय परिवर्तन आएको छैन । त्यसैले कतिपयले यो एयरपोर्टको अवस्था यस्तै रहिरहने हो भने सदाको लागि बन्द गरिदिए हुन्छ भनेर आक्रोश पोखिरहेको सुनिन्छ । इतिहास नियाल्दा २००७ सालको राजनीतिक परिवर्तन भयो ।

तत्कालीन फालाबाङी राजा गजेन्द्रबहादुर शाहको तुलसीपुरस्थित दरबारमा राजनीतिक परिवर्तन पक्षधर मानिएका नेपाली कांग्रेस, नेकपा एमालेलगायतका ब्यक्तिहरुले आक्रमण गर्ने तथा धावा बोल्ने खतरा उत्पन्न भएपछि शाहकै आग्रहमा उनकै कर्मचारी जस्ता झग्गुप्रसादले रातरात टरिगाउँ डाँडोमा लगाएका आँपका रुखका बोटहरु मास्न लगाएर एयरपोर्ट तयार पारिएको तथ्य फेला पर्छ ।

यहाँ विमान सेवा सुरु भएको धेरै बर्षपछिसम्म क्षेत्रीय रुपमा बहस चलेको देखिन्छ । तुलसीपुर ठीक कि घोराही ? भन्नेबारे तर्क बितर्क हुँदै आए । आजसम्म त्यही क्षेत्रीयतावादी चिन्तनका कारण टरिगाउँ एयरपोर्ट ओझेलमा परेको तथ्य कतै छिपेको छैन । आज पनि बाँकेस्थित राँझा बिमानस्थल र रुपन्देहीस्थित भैरहवा विमानस्थलका कारण ओझेलमा पार्ने षड्यन्त्र हुँदै आएको छ । यात्रु घट्ने चिन्ताले ती ठाउँका उद्योगी व्यवसायी वा नेताहरु दाङ एयरपोर्टको विकास र विस्तार चाहँदैनन् । किनकि दाङ र आसपासका जिल्लाहरुका अधिकांश यात्रुको रोजाइँ आज पनि राँझा र भैरहवा नै छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष विमल रिजाललगायतका यस क्षेत्रका व्यवसायीले दङालीले विमान चल्नका लागि झेल्नुपरेको अप्ठेरा, दुःख पीडा अन्त्य गर्ने उद्देश्यले गौचरणमा परिणत भएको टरिगाउँ बिमानस्थल सुचारु गराउन अहम् भूमिका खेले । उनीहरुले यहाँ आउने हरेक राजनीतिक दलका शीर्ष नेता र मन्त्रीहरुलाई गुहारे ।

काठमाडौंसम्म पुगेर पनि त्यसै गरे । एयरपोर्टको विकासको लागि निरन्तर लागि परे । १ सय बढी ज्ञापन–पत्र बुझाए । आपसमा रकम संकलन गरे । मेला महोत्सव लगाए । त्यतिले नपुगेर सडकमा पनि उत्रिए । ‘ताप्के नतात्दै बिड ताप्ने’ वा नेता भन्दा ब्यापारीले किन यति धेरै राजनीति गर्ने ? भन्ने ढंगले लाञ्छनाहरु लगाइए ।

फलस्वरुप लोकेन्द्र बिष्टमगर पर्यटन मन्त्री भएको बेला टरिगाउँ विमानस्थलको धावनमार्ग कालोपत्रे भयो । जम्मा ७५० मिटर लम्बाई र ३० मिटर चौडाइको धावन मार्गमा मात्रै । जसका कारण यहाँ साना (ट्विनअटर) विमान मात्रै अवतरण हुन सक्छन् । २०७४ सालको स्थानीय तह निर्वाचनपछि तुलसीपुरका नगर प्रमुख घनश्याम पाण्डेले पनि यो एयरपोर्टको लागि निकै दौडधुप गरे । पहल गरे । फलस्वरुप विगत केही वर्षयता यहाँ नेपाल एयरलायन्सले उडान भर्दै आएको छ ।

पछिल्लो तीन साता यो विमानस्थलमा हप्ताको तीन दिन बुधबार, बिहीबार र शुक्रबार मात्रै दैनिक उडान हुँदै आएको छ । कोरोना महामारीको समयभन्दा पहिले यहाँ दैनिक दुई उडान हुँदै आएको थियो । त्यसपछि दैनिक र पछिल्लो समय शनिबारबाहेक दैनिक उडान हुने गर्दथ्यो । विमानस्थलका प्रमुख गणेश अर्यालले एउटा विमान बिग्रिएर ग्राउन्डेट भएपछि विमान अभावमा उडान संख्या घटाउनुपरेको जानकारी दिए ।

साउन १५ गतेको घटना पनि यहाँ उल्लेख गर्नु मनासिव ठहर्छ । जुन दिन केन्द्रको ठाडो आदेशमा हवाई इन्धन डिपो कार्यालय दाङका प्रमुख विपिन श्रेष्ठले टरिगाउँ एयरपोर्टबाट बिमानमा इन्धन भर्न प्रयोग हुने एउटा ट्याङकर (बाउजर मेसिन) फिर्ता पठाउने तयारी गर्दै थिए । त्यो बाउजर जेठको दोस्रो सातातिर टरिगाउँ एयरपोर्टमा ल्याइएको थियो ।

बाउजर यहाँ ल्याइएको यो नै पहिलोपटक हो । बाउजर ल्याइँदा जिल्लाबासी निकै खुसी भएका थिए । बाउजरको खबर सार्वजनिक हुनासाथ अब टरिगाउँ एयरपोर्टको भविष्य सुनिश्चित हुने भयो भन्ने सञ्चार भएको थियो । त्यही भएर यो बीचमा बाउजर फिर्ता पठाउन थालेको खबर सार्वजनिक भएकै दिन एक किसिमको हंगामा भयो ।

एमालेबाट निर्वाचित तुलसीपुरकी उपप्रमुख स्यानी चौधरीलगायत नेकपा माओबादीका नेतासमेत रहेका तुलसीपुर–१२ का अध्यक्ष खुसीराम चौधरी, जनप्रतिनिधि, एमाले नेता तुलसीपुर उद्योग वाणिज्य संघका रामप्रसाद चालिसे, कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका उपसभापति तथा उद्योग वाणिज्य संघका महासचिव विनिल केसी लगायत अन्य उद्योगी व्यवसायी एयरपोर्टमा पुगेर इन्धन डिपो र बाउजर राखेको गेटमा तालाबन्दी गरेका थिए ।

जतिखेर पनि तीब्र राजनीति भयो । नगर प्रमुख टीकाराम खड्कादेखि पूर्व नर प्रमुख घनश्याम पाण्डेसम्मले सामाजिक सञ्जालहरु रंगाए । बिरोध जनाए । आन्दोलनको चेतावनी दिए । आफूहरुले एमाले अध्यक्ष प्रधानमन्त्री हुँदा केपी ओली र महासचिव शंकर पोख्रेल लुम्बिनी प्रदेशका मुख्यमन्त्री हुँदा भनसुन गरेर ल्याएको बाउजर फिर्ता पठाउन कांग्रेसलगायत गठबन्धन दलहरुले राजनीतिक इगो साँधेको भन्न भ्याए ।

त्यस्तै कांग्रेस नेता तथा लुम्बिनी प्रदेशका पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले त्यो बाउजर आफ्नो पहलमा जेठ दोस्रो साता एयरपोर्टमा ल्याएको दाबी गरे । एमालेले रोक्न खोजे पनि आफूले कांग्रेसका शीर्ष नेतालाई गुहारेर बाउजर ल्याएको दाबी उनले ब्यक्त गरेका थिए । जस लिने होडबाजी चल्यो । बाउजर फिर्ता हुने प्रतिष्ठाको बिषय बन्यो ।

सर्वसाधारणदेखि कांग्रेस नेताहरुले समेत कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी, प्रदेश पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीलाई बाउजर कुनै पनि हालतमा फिर्ता लैजान दिन नहुने भनेर दबाव सिर्जना गरे । एमालेका नेता कार्यकर्ताले पनि त्यसै गरे । त्यसपछि नेता गिरी र मन्त्री चौधरीको पहलमा बाउजर तत्कालका लागि यहाँबाट लैजाने प्रक्रिया रोकियो ।

इन्धन डिपो सञ्चालनका लागि अन्तिम पहल भइरहेको छ । श्रेष्ठका अनुसार स्याम्पल भारतमा पठाइसकिएको छ । त्यो रिपोर्ट आउना साथ टरिगाउँ एयरपोर्टमा इन्धन डिपो सुरु हुन्छ । यस्तो अवस्थामा बाउजर फिर्ता लैजान खोज्नुले संशय अवश्य पैदा भएको थियो । यद्यपि हालसम्म यहाँ प्रयोगविहीन बाउजर नागरिक उड्यन प्राधिकरणले आवश्यकता परेको ठाउँमा यता–उता ल्याउने लैजान पाउनु उसकै अधिकार क्षेत्रको कुरा थियो ।

एमाले महासचिव पोख्रेल साउन १८ गते पार्टी प्रशिक्षणका क्रममा तुलसीपुर आए । तुलसीपुरस्थित पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा उनले पनि एयरपोर्टको कुरा महत्वका साथ उठाए । उनीमाथि टरिगाउँ एयरपोर्टको विकासमा पूर्णविराम लगाउन चाहेको दोषारोपण राजनीतिक बृत्तमा लाग्दै आएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रमा क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरको बिमानस्थल बनाउने लबिङ उनकै हो । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका प्रबक्ता कृष्णबहादुर महरासँग अघिल्लो निर्वाचनमा दाङ क्षेत्र नं. २ बाट चुनाबी गठबन्धन गरी उम्मेदवारी दिँदा उनीहरुको घोषणा–पत्रमा समेटिएको एउटा प्रमुख र आकर्षक नारा त्यही थियो । तर, काम भएन । एयरपोर्टको लागि भनेर नापजाँच गर्न खोज्दा कतिपय स्थानीय विरोधमा उत्रिएका थिए ।

धान फल्ने खेत मासेर एयरपोर्ट बनाउन नदिने उनीहरुको भनाइ थियो । त्यो दिन पनि महासचिव पोख्रेलले टरिगाउँ एयरपोर्ट विस्तार गर्न सम्भव नभए विकल्प खोज्न तयार हुनुपर्ने कुरा स्पष्ट बोले । उनले एयरपोर्ट नबन्नुको दोष भने कांग्रेसमाथि थुपारेका थिए । कांग्रेसकै पालामा भएको सर्भेले टरिगाउँमा क्षेत्रीय वा राष्ट्रियस्तरको एयरपोर्ट बनाउन सम्भव छैन भनेर रिपोर्ट बनाएको हुँदा कांग्रेसकै कारण एयरपोर्ट नबनेको आरोप उनको थियो ।

‘एमालेले प्रदेश राजधानी दाङ सा¥यो,’ उनले भनेका थिए– ‘नीतिगत अलमलका कारण धेरै सम्भावनाहरु टरेका छन् र सँधैभरि यस्तै गरे दाङको विकासको भविष्य ओझेलमा पर्न सक्छ । विकासमा राजनीति नगरौं ।’ त्यतिमात्रै हैन कांग्रेस नेता दीपक गिरी, मन्त्री डिल्लीबहादुर चौधरीलगायतका नेताहरु यतिखेर एरपोर्टको विकासका लागि आफ्ना नेताहरुलाई झक्झक्याउन जान नसकेको भन्दै उनले आलोचना गर्न पनि छोडेनन् ।

आफू दीपक गिरी, कृष्णबहादुर महरा, डिल्लीबहादुर चौधरीसँगै बसेर एयरपोर्टको विकासको सवालमा काम कुरा गर्न तयार रहेको उनको स्पष्टोक्ति थियो । कांग्रेस नेता गिरी, मन्त्री चौधरी पनि विकासमा राजनीति गर्न नहुने कुरा भन्दै आएका छन् । टरिगाउँ एयरपोर्ट कम्युनिष्टका नेताहरुका कारण ओझेलमा पार्न खोजिएको दोषारोपण गर्छन् । कांग्रेस नेता जीवनबहादुर शाही पर्यटनमन्त्री हुँदा नेता गिरीकै पहलमा आफूसमेत उपस्थित भई झन्डै एक महिना लगाएर प्राविधिक टोलीले पहिलोपटक डिटेल सर्भे गरेको थियो ।

विमानस्थल विस्तारबारे अध्यन प्रतिबेदन तयार पारेको थियो । त्यतिखेरको प्राविधिकहरुले बुझाएको रिपोर्टमा टरिगाउँ एयरपोर्टको थप विस्तार सम्भव नरहेको भन्ने छ । त्यो भन्दा पहिलेको रिपोर्टमा पनि त्यस्तै कुराहरु दिइएको थियो । तर, आम दाङवासी त्यो पत्याउन तयार छैनन् । विश्वास नै गर्दैनन् ।

त्यसैले पछिल्लो समय फेरि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेहरु एयरपोर्ट विस्तारका लागि खुत्रुके अभियानमा जुटेका छन् । स्वेच्छिक रकम संकलन भइरहेको छ । उनीहरुले वनसँग समन्वय गरी तुलसीपुरका इञ्जिनियर पवन योगीलगायतको सहयोगमा केही रुख विरुवा काट्ने र चिरो आफै भाट्ने जस्ता सुरुवात पनि गरेका थिए ।

तर, त्यसलाई धेरैलाई बैशाख १० गतेको स्थानीय तहको निर्वाचनलाई लिएर थालिएको प्रोपोगाण्डाको संज्ञा दिएपछि रोकिन पुगेको थियो । जनताको भावनामाथि खेलवाड गर्दा पूर्वको बुटवल र पश्चिमको नेपालगञ्जले हरेक क्षेत्रमा ठूलो तरक्की गरिसकेका छन् । एशियाकै ठूलो उपत्यका दाङ जो प्रदेश राजधानीको केन्द्र पनि हो त्यहाँ अहिलेसम्म एउटा गतिलो बिमानस्थल नहुनु लज्जाको बिषय हो ।

मानिसहरु बिरामी हुँदा, दुर्घटनामा पर्दा, घाइते हुँदा, सुत्केरी व्यथाले च्याप्दा लाखौं खर्चिएर हेलिकोप्टर चार्टर गरेर काठमाडौं जान बाध्य छन् । तर, नेताहरु नेपालगञ्ज र भैरहवा विमानस्थलबाट उड्दै गर्दा लाज–सरम नमानी सामाजिक सञ्जालमा फोटोहरु पोष्टिरहन्छन् । यसले थुप्रै आशंकाहरु जन्माएको छ । के हाम्रा नेताहरु उताको प्रभावमा परेका हुन् ? अझै स्पष्ट भन्दा टरिगाउँ एयरपोर्टको विकास र विस्तार नगर्ने भनेर कसम खाएका छन् ? बिकेका छन् ?

प्रकाशित मिति : २०७९ साउन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.