दाङ , असोज २२ । डोटी प्रहरीले घटनाको हप्ता दिन पछि दुर्घटनामा प्रहरी जवान मृत्यु घटनामा ठक्कर दिएर भागेका बसका चालकको पहिचान पछि कारबाहीको प्रक्रिया सुरु गरेको छ ।
असोज १७ गते मध्य राति प्रहरी जवान शंकर बलायर सडक खण्डमा मृत अवस्थामा फेला परेका थिए । बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा दरबन्दी भइ जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए ।
उनी दसैं मनाउन बिदामा डोटीको शिखर नगरपालिका–८ तिलतालीस्थित घर गएका बखत बसले ठक्कर दिएको थियो ।
घटनास्थलमै मृत्यु भएका उनको टाउकोको पछाडि भागमा गम्भीर चोट थियो । प्रहरी जवान बलायर पैदल हिडिरहेको समयमा असोज १७ गते राति केआई सिंह राजमार्गअन्तर्गत गोपघाट नजिकै सडकमा ना ७ ख १७२ नम्बरको यात्रुबहाक बसले ठक्कर दिएर भागेको अनुसन्धानबाट पत्ता लागेको थियो ।
उक्त बसका चालक बाजुरा जिल्लाको गौमुल गाउँपालिका – २ मल्दुकुनका ३३ बर्षीय गणेश धामी प्रहरी जवान बलायरलाई ठक्कर दिएपछि बस नरोकी भागेका थिए ।
सिसी टिभी फुटेज लगाएत बिभिन्न प्राबिधिक विश्लेशन पछि डोटीबाट प्रहरी जवान बलायरलाई ठक्कर दिएर भागेको बसको खोजीमा प्रहरी खटिएको थियो ।
डोटीबाट प्रहरीको तीन टोली ठक्कर दिने बस र चालकलाई खोज्न धनगडी, कैलाली लगाएतका क्षेत्रमा खटिएको थियो ।
त्यही टोलीले असोज २० गते ठक्कर दिने बस र चालकको पहिचान गरि असोज २२ गते डोटी पुर्याएर कानुनी कारबाहीका लागि मुद्दा चलाएको छ ।

