२०८२ कार्तिक २५ गते मङ्गलवार

‘तिलकन्या राजकोट’ को बिर्सन नहुने इतिहास

गोल्टाकुरीमा बसेको थियो जिल्लामै पहिलो प्रहरी चौकी

प्रकाश डाँगी, गोल्टाकुरी , असोज २० । साविक गोल्टाकुरी गाविस र हालको दंगीशरण गाउँपालिका– २ मा पर्ने राजाकोट ऐतिहासिक, भौगोलिक र प्राकृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थल हो । समुद्र सतहदेखि १,५५६ मिटरको उचाइमा अवस्थित यो स्थल घना जंगलले ढाकिएको छ ।

तुलसीपुर बजारदेखि करिब २० किलोमीटर दक्षिणतिरमा अवस्थित राजाकोट, तिलकन्या र पाथीभारा सामुदायिक वनसँग जोडिएको छ । जहाँ पुग्न गोल्टाकुरीदेखि करिब ५ किलोमिटर घना जंगलमा पैदल यात्रा गर्नु पर्छ ।

दाङ उपत्यकाको चुरे र महाभारत क्षेत्रमा ११औँ–१५औँ शताब्दीसम्म शासन गरेका भुरेटाकुरे राजाहरुसँग राजाकोटको पहिचान जोडिएको छ । सुकौराकोटका राजा दंगीशरण गर्मीमा राजाकोटमा जान्थे भन्ने भनाइ छ ।
त्यही कारण हाल नेपाल टेलिकमको रिपिटर टावर रहेको त्यो अग्लो पहाडको चुचुरोलाई राजाकोट भन्न थालिएको अग्रज जानकारहरु बताउँछन् ।

थारु भाषामा कोटलाई ‘रज्जवाकोट’ भनिन्छ । त्यसको अर्थ राजा बस्ने चुचुरो (ठाउँ) भन्ने हुन्छ । राजा दंगीशरण सिकारका पारखी थिए । उनी आफ्नी रानीसँगै बुल्बुल्या तालमा नुहाउँथे भन्ने गरिन्छ । थारु समुदायमा आजपनि माघीका अवशरमा नुहाउने परम्परा त्यसैको शिलशिला हो भन्ने विश्वास छ ।


शिवालिग चुरे श्रृङखलामा अवस्थित राजाकोट भौगर्भिक र ऐतिहासिक अध्ययनका लागि महत्वपूर्ण क्षेत्र हो ।
ऐतिहासिक तथ्यअनुसार दाङ उपत्यकाको चुरे र महाभारत क्षेत्रमा ११औं शताब्दी देखि १५औं शताब्दीसम्म शासन गर्ने भुरेटाकुरे राजाहरूसँग पनि राजाकोटको बलियो सम्बन्ध रहेको विश्वास गरिन्छ ।


तत्कालिन समय दाङ सुकौराकोटको सम्बन्ध बझाङ र सल्यानी राज्यसँग पनि स्थापित थियो भन्ने इतिहासका अध्यताहरु बताउँछन् ।

राज्य उन्मुलनको पालासम्म दाङले सल्यानी राजालाई पोत बुझाउनु पनि एउटा प्रमाण हो । त्यही आधारमा कतिपय आजपनि दंगीशरण थारु राजा सल्यानी राजाको अधिनमा थिए र उनैले गरि खाउ भनेर विर्ता मात्रै थियो भन्ने अनुमान गर्छन ।

तर, जे जस्तो भएपनि दाङ सुकौराकोटका राजा दंगीशरण गर्मी याममा सितलका लागि राजाकोटमा बस्न जान्थे भन्ने गरिन्छ । त्यही भएर हालको रिपिटर टावर रहेको ठाउँको नाम ‘राजाकोट’ रहन गएको मान्नेता छ ।


दाङमा उतिखेर औलोको जगजगी थियो । त्यसैले गर्दापनि दंगीशरण राजा गर्मी बाट जोगिन सुकौराकोटदेखि सोझै दक्षिणतर्फको चुरे पर्वतमा रहेको राजाकोट भन्ने ठाउँमा बसेर राजकाज गर्थे भन्ने गरिन्छ । दंगीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोट लगायतका संरचनाहरू अहिले पनि त्यसक्षेत्रमा हेर्न र देख्न पाइन्छ भन्ने गरिन्छ ।

राजा दंगीशरणले आफ्नो सम्पत्ति सुरक्षित राख्न धनटाकुरामा पैंसा र किम्ती वस्तु गाडेको रोचक कथा सुनाउनेहरु अझैंपनि छन् । राजाकोट नजिकैको तिलकन्याको कोटमा राज्यको गौंडा थियो भन्ने मान्नेता छ । तिलकन्याको कुकुर गौंडा पाँच पाण्डवसँग जोडिएको किम्बदन्त्ति रोचक लाग्छ ।

त्यो पल राजाकोट, तिलन्याका टाकुरा दाङ उपत्यकाको लागि निकै प्रचलित र एक मात्र चल्तीको पैदल मार्ग थियो । दाङमा सबै भन्दा पहिला गोल्टाकुरीमै प्रहरी बसेको विश्वास गरिन्छ ।


दाङबाट बाँकेको, बाघखोर, बाँदर भरिया र कुसुम निस्कने सबै भन्दा छोटो पैदल मार्ग यही थियो । त्यही बाटो उतिखेर मानिसहरु घोडा लिएर नेपालगंजमा नुन र तेल लिन जाने गर्थे ।


गोल्टाकुरीबाट उकालो लागेपछि तिलकन्याको कोटमा पुगेर मानिसहरु बिसाउँथे । डाँडोमा पाती चढाउँथे । पानी पिउँदा देउरालीमा भाकल गर्थे ।

उतिखेर यो पैदल मार्गमा नेपालगंज–दाङ गर्ने घोडेहरुको लस्कर हुन्थ्यो । नुन तेल किन्न जाने हटारुको समूह, घोडा चडेर राजाकोट वारपार गर्ने त्यो पुस्ता आजपनि जिवितै छन । उनीहरुका संघर्षका कथा उत्तिकै रोचक लाग्छन् । अझ भनौ किम्बदन्ती समान र एका देशका कथा जस्तै लाग्छन् ।

राजाकोटको चुचुरोबाट नेपालगंज, बहराइज, थर्कौट, स्वर्गद्वारी र महाभारत श्रृंखला संगै हिमाली सेताम्मे हिम श्रृंखला र रमणीय स्थलहरू नाङ्गो आँखाले सहजै नियाल्न सकिन्छ । आफ्नै काख भएर बग्ने बबई र देउखुरी उपत्यका भएर बग्ने राप्ती नदीका नागबेली दृश्यले जा ेकोहीको मन लोभिन्छ ।

त्यो बेलाको प्रमुख पदमार्ग अर्थात तिलकन्याको बाटो मुख्य गरि तुलसीपुर–अमेलिया सडक खण्डले पूर्व पश्चिम राजमार्ग जोडिएपछि ओझेलमा परेको हो ।

घोराही–लमही मसोट सडक सञ्चालनले पनि सुविधा थप्यो । धेरै अगाडि पनि होइन २०३०को दशकमा मोटर गाडी राजमार्गमा गुड्न थालेपछि मानिसले तिलकन्याको चर्चित पद मार्गमा हिड्न विस्तारै छोडेका हुन ।

त्यसपूर्व तिलकन्याको टाकुरोमा झुपडीमा भएपनि यात्रुको सुविधाका लागि तत्कालिन समय चिया नास्ता पाउने ‘होटल’ संचालन थिए भन्नेहरु पुरानो पुस्ता अझैं जिवितै छन् । जो ज्यूँदा इतिहास हुन । मानिसहरु तत्कालिन प्रमुख तिलकन्याको पद मार्ग बिर्सिएपनि ‘राजाकोट’ भने अझैं उस्तै छ। शान्त र स्थित ।

यस्तो लाग्छ मानिसहरुको आवागमनको प्रतिक्षारत छ ऊ । तर, पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्ज घोषणा र सीमा बिस्तार संगै सीमावर्ती क्षेत्रमा वन्य जन्तुको चहल पहल बढेपछि त्यहाँ जान आउन मानिसहरु डराउनु पर्ने अवस्था छ । निकुञ्ज प्रशानका कारण त्यो क्षेत्रमा खुल्ला प्रबेश गर्न पाइदैन पनि ।

राजाकोट–तिलकन्या क्षेत्र जिल्लामै नेपाल प्रहरीको इतिहाससँग जोडिएको ठाउँ हो । शायद पछिल्लो पुस्तालाई यो मजाग लाग्ला । उतिखेर जिल्लामा राज्यको सशक्त उपस्थिति कँही थियो भने त्यो गोल्टाकुरीमा मात्रै थियो ।


‘तिलकन्या प्रहरी’ को नाम समय संगै विस्तारै ओझेल पर्दै गएको छ । त्यो बेलाको प्रहरी यूनिट आज ‘गोल्टाकुरी प्रहरी चौकी’को रुपमा छ । दंगिशरण गाँउपालिका–२ गोल्टाकुरीमा । जो आँफैमा नलेखिएको इतिहास हो ।


‘राजाकोट’ एक पहाडको चुचुरो मात्रै होइन यो इतिहास पनि हो । इतिहास र प्रकृतिको संगम स्थल हो। यही ठाउँको पहिचान स्थापित गर्न कार्तिक १ गते स्थानीय युवा मिलेर ‘राजाकोट पुगौँ, हाम्रो पहिचान र धरोहरला

प्रकाशित मिति : २०८२ असोज २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *