दाङ , फागुन २ । बर्दियाका एक जना औषधि पसल सञ्चालकको हत्या आरोपमा २१ बर्ष पछि प्रहरीले दुई जनालाई पक्राउ पछि सार्वजनिक गरेको छ ।
बर्दियाको साबिक मानपुर टपरा गाविस वडा नं. ७ र हालको राजपुर नगरपालिका – ८ सडवा गाउँका २८ बर्षीय बाधुराम भनिने बन्धु थारुको २०६० ÷०२ ÷ १५ गते राति १० बजे हत्या भएको थियो । जेठ १८ गते छिमानन्द थारुले औषधि पसलमै काम गर्ने दुई जना बिरुद्ध किटानी जाहेरी दिएकी थिइन ।
छिमानन्दको जाहेरी पच्छ्याउँदै जाँदा नवलपरासी जिल्लाको कावासोती नगरपालिका – १५ का ७८ बर्षीय कंभु नारायण महतो र ४५ बर्षीय राजु थारु भनिने रामनारायण महतो पक्राउ परेका जिल्ला प्रहरी प्रबक्ता डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार हत्या गरिएका थारुको उतिखेरै आफ्नै औषधि पसल थियो । औषधि पसलदेखि झन्डै ६०० मिटर टाढा लगेर घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या भएको अवस्थामा थारुको शब फेला परेको थियो ।
त्यो घटनामा गत माघ २६ गते बर्दिया जिल्ला अदालतबाट महतो द्धयका बिरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
त्यसपछि नवलपरासी प्रहरीको सहयोगमा आफ्नै औषधि पसलका साहुको हत्या आरोपी महोतो द्धयलाई पक्राउ गरि बर्दिया ल्याइएको हो ।
हत्या पछि उनीहरु बर्दिया छोडेर नवलपरासीमा गइ उतै बस्न थालेका थिए । उनीहरु माथि अनुसन्धान जारी रहेको डिएसपी घर्तीले बताएका छन् ।
डिएसपी घर्तीका अनुसार बन्धु थारुको हत्या हुनुको पछाडि अबैध प्रेम सम्बन्ध कारक मानिएको देखिन्छ । बिगतको सम्बन्धकै कारण महिलाको सहयोगमा उनीहरुको स्थान पत्ता लगाउन र पक्राउ गर्न सजिलो भएको प्रहरीले बताएको छ ।