दाङ, फागुन १७ । रोल्पामा घरमा आगो लाग्दा एक जना बृद्ध महिलाको जलेर मृत्यु भएको छ ।
जिल्लाको माडी गाउँपालिका – ५ चरिकोटमा घरमा आगोलागी हुँदा ७५ बर्षीया हरिकला घर्तीको घरमा लागेको आगोबाट जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक राम नारायण गुप्ताले बताए ।
माथिल्लो तलाको कोठामा बृद्ध घर्तीको शब फेला परेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक गुप्ताले बताए ।
मंगलबार बेलुकी पख घर्तीको घरमा आगलागी भएको थियो ।
ढुँगा, माटोबाट निर्मित र जस्ता पाताले छाएको दुई तले घरमा आगो लागेको र हरिकला घर्ती घरको माथिल्लो तलामा जरेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
घरमा आगलागी भएको सूचना पछि प्रहरी चौकी भावाङबाट प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिइ सकेपछि माथिल्लो कोठामा हेर्दा हरिकलाको शब जलेको अवस्थामा फेला परेको थियो ।
आगलागी हुँदा घरमा हरिकला एक्लै थिइन । उनी संग माइलो छोरा बस्दै आएको भएपनि काम गर्न घर बाहिर रहेको समयमा आगलागी भएको प्रहरीले बताएको छ ।
हरिकलाका अन्य तीन छोरा कामको लागि बाहिर गएको प्रहरीले बताएको छ । आगलागीको कारण थाहाँ हुन नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।