दाङ, मंसिर १८ । जाजरकोटका नवराज विकसहित ६ जनाको सोती हत्या काण्ड बारेमा आजदेखि अन्तिम बहस सोमबारपनि जारी छ ।
जिल्ला अदालत रुकुम पश्चिममा आइतबारदेखि अन्तिम बहस सुरु भएको र सोमबारपनि त्यसले निरन्तरता पाएको अदालतका सूचना अधिकारी गोबिन्दप्रशाद कोईरालाले बताए ।
जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको इजलासमा आइतबारदेखि सुरू भएको अन्तिम बहस सोमबार जारी रहेको र सोमबार पीडिततर्फका वकिलहरूले बहस सुरु गरेको कोईरालाले जानकारी दिए ।
आइतबारपनि पीडिततर्फ सरकारी वकिलसहित ९ जना वकिलले बहस गरेका थिए ।
सुरूमा जाहेरवाला अर्थात पीडितको तर्फबाट उच्च सरकारी वकिल कार्यालय सुर्खेतका निमित्त न्यायाधिवक्ता डम्बरप्रसाद काफ्लेले बहस गर्दै छन् । उनीपछि जाहेरवालातर्फकै निजी वकिलले बहस गर्ने छन् ।
आइतबार सरकारी वकीलहरू चन्द्रबहादुर सिंजाली र सहायक सरकारी वकिल राजेन्द्र रेग्मीले बहस गरेका थिए। पीडिततर्फका निजी वकिलमध्ये वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित सात जनाले बहस गरेका थिए।
बहस गर्न २४ जना वकिलले नाम दर्ता गराएका छन । यो संख्या अझैं थपिन सक्ने अनुमान गरिएको छ । हालसम्म नाम दर्ता गराएका २४ जनामध्ये पीडित पक्षबाट १७ जना र प्रतिवादीतर्फ सात जना वकिल रहेका छन् ।
करिब साढे तीन बर्ष अघि ०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरूलाई लगेर मल्ल थरकी प्रेमिकालाई भगाउन भनेर रुकुम पश्चिमको चौरजहारी नगरपालिका – ८ स्थित सोतीगाउँ पुगेका थिए ।
उनीहरूमाथि सोती गाउँका स्थानीयले योजनाबद्ध आक्रमण गरेका थिए । लखेटी लेखेटी आक्रमण गरेका थिए । उनीहरुको सांघातिक आक्रमणबाट नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको हत्या भएको थियो ।
उनीहरुको शब भेरी नदीमा फेला परेको थियो । ६ जनाको शब खोज्न दुई हप्ता लागेको थियो । उक्त आक्रमणका परि १२ जना घाइते भएका थिए ।
घटना पछि नवराजका बुबा मुनलाल नेपालीले जिल्ला अदालतमा २०७७ जेठ ३२ गते मुद्दा दायर गरेका थिए ।
मुनलाले चौरजहारी नगरपालिका –८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा सांघातिक आक्रमण गरि हत्या गरेको भन्दै किटानी जाहेरी दिएका थिए ।
अभियुक्त मध्य ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुर सम्बन्धि मुद्दा दायर गरिएको छ भने एक जनालाई मतियारको अभियोग लगाउँदै मुद्दा दायर भएको थियो ।
आरोपित ३४ जना मध्ये १ जना किशोरीकी आमा धरौटीमा र अन्य १० जना सामान्य तारिखमा छुटेका थिए । २३ जनालाई भने पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको थियो ।
सोती घटनाको केही दिनपछि माओवादी केन्द्रका तत्कालिन सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा बनेको घटना छानबिन समितिले उक्त घटना नियोजित रुपमा भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो।
सोही घटनाको अन्तिम बहसका लागि नेपालका बिभिन्न अदालतहरुबाट २४ जना वकिलहरु रुकुम जिल्ला अदालत पुग्ने छन् । काठमाडौं, कास्की, दाङ, सुर्खेतसहितका मुलुकका बिभिन्न अदालतका २४ जना वकिलहरु रुकुम पश्चिम पुगेको अदालतका सूचना अधिकारी कोईरालाले जानकारी दिए ।
जिल्ला न्यायाधिस खड्गबहादुर केसीको इजलासमा सबै भन्दा सुरुमा सरकारी वकिलले बहस गरेका थिए । त्यसपछि पीडित पक्ष अर्थात जाहेरी वालाको तर्फबाट वलिकहरुले बहस गर्ने छन् । थुनुवा प्रतिबादीको तर्फबाट र अन्तिममा खण्डन बहस हुने छ ।
अरु वकिलहरु नथपिएको खण्डमा २४ जना वकिलहरुको बहस मंगलबारसम्म बहस सकिने अनुमान गरिएको छ । अन्तिम फैसला आउन भने समय लाग्ने देखिएको छ ।
बहुप्रतिक्षित सोती काण्डको बारेमा अन्तिम बहस सुरु भएपछि कस्तो फैसला आउला ? भन्ने बारेमा सर्वत्र चासोको बिषय बनेको छ ।
धेरैले सोती काण्डलाई जातपातका आधारमा गरिएको जघन्ने अपराधको संज्ञा दिदै आएका छन् ।