सल्यान,साउन १७ । सल्यानको छत्रेश्वरी गाउँपालिकामा वृक्षारोपण अभियान चलाइएको छ ।
गाउँपालिका भित्र रहेका सामुदायीक वनको खाली क्षेत्रमा बृक्षारोपन अभियान सुरु गरिएको छ । बुधबार छत्रेश्वरी, ६ स्थित इन्द्र सामुदायिक वन समूहको चैवाङ ज्यूला झिंगाचौरमा एक हजार आठ सय विरुवा रोपिएको छ ।
११ हजार विरुवा रोप्ने उद्देश्य राखिएको छ । हाल सम्म १० हजार चार सय विरुवा रोपिएको शब डिभिजन वन कार्यालय लान्तीका पदाधिकारीले बताए ।
गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले ओखर, तेजपात, टिमुर र देवदार सल्लाका विरुवा रोपिएको जानकारी दिए ।
वन जोगाउन स्थानीय उपभोक्ताको उल्लेखिय भुमिका हुने भन्दै उनले वृक्षारोपणमा स्थानीयहको उत्साहजनक सहभागिता रहेको बताए । भोटेचौर स्थित गाउँपालिकाको परिसर तथा अन्य खाली जमिनमा वृक्षारोपणका लागि आफुहरुले काम गर्ने अध्यक्ष बुढाथोकीले बताए ।
अभियानमा १०५ जना भन्दा बढी उपभोक्ताहरु सहभागि भएका थिए ।
एक हजार देवदार सल्ला, २०० टिमुर, ४०० तेजपात र २०० ओखरका विरुवा रोपिएको सब डिभिजन वन कार्यालय लान्तीका प्राविधिक वन रक्षक देवबहादुर केसीले जानकारी दिए ।
विरुवाको व्यवस्थापन गंगा रोजिन एण्ड टरपेनटाइनले गरेको हो । अब छत्रेश्वरी २ को तिनछहरा सामुदायिक वन र वडा नम्बर ६ को इन्द्रेणी सामुदायिक वनमा पनि वृक्षारोपण कार्यक्रम रहेको केसीले जानकारी दिए ।