२०८१ बैशाख २३ गते आइतवार

दाङमा आँखा पाक्ने रोग फैलँदै

दाङ,साउन १७ । दाङमा आँखा पाक्ने रोग फैलिएको छ । रोग फैलिएसँगै बिरामीको संख्या पनि बढेकोे छ । कन्जनटिभाइटिस भाइरसबाट लाग्ने सरूवा रोगका कारण राप्ती आँखा अस्पताल तुलसीपुरमा दैनिक पाँच सय २१ जना बिरामी आउने गरेका छन् ।

त्यस्तै लमही आँखा अस्पतालमा दैनिक तीन सय १३ जना र भालुवाङ उपचार केन्द्रमा दैनिक झण्डै ८० जना बिरामी आउने गरेको लमही आँखा अस्पताल देउखुरीले जनाएको छ ।

यस्तै राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको तिलगंगा सर्जिकल आँखा केन्द्रमा दैनिक ४५ जना बिरामी आउने गरेको केन्द्रका इन्चार्ज विमल बुढा क्षेत्रीले जानकारी दिए ।

रोगका कारण आँखा पाकेर बढी मात्रामा केटाकेटीहरू अस्पताल आउने गरेका छन् । रोगको लक्षणकारुपमा आँखा रातो हुने, चिलाउने, आँखाबाट रगत मिसिएको आँसु आउने, ज्वरो आउने, घाँटी दुख्ने समस्या देखिने गरेको इन्चार्ज बुढा क्षेत्रीले बताए ।

सङ्क्रमणबाट जोगिनका लागि सङ्क्रमित व्यक्तिको नजिक नबस्ने, भिडभाडमा नजाने, बिरामीले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा ओच्छ्यान प्रयोग गर्नु हुँदैन ।

त्यस्तै औषधि प्रयोग गरिसकेपछि हातधुने, आँखा नछुने तथा चस्माको प्रयोग गर्नुपर्छ । अनावश्यक रुपमा भिडभाडमा नजाने तथा जानै परे चस्माको प्रयोग गर्ने र लक्षण देखिएमा अस्पतालमा जाँच गराउन पनि इन्चार्ज बुढा क्षेत्रीले सुझाव दिए ।

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *