दाङ, साउन ११ । लुम्बिनी प्रदेश सरकारले प्रदेश भर कर्निया अर्थात आँखाको नानी प्रत्यारोपण निशुल्क गर्ने तयारी गरेको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा व्यवस्था गरेर आँखाको नानी प्रत्यारोपण तथा कर्नियाको अप्रेशन निशुल्क गर्ने नयाँ कार्यक्रम मार्फत व्यवस्था मिलाएको छ ।
यो कार्यक्रम लागु भएमा मुुलुकका सात प्रदेश मध्ये लुम्बिनी प्रदेश पहिलो हुने छ । आँखाको ज्योती गुमाएर अन्धोपन भएकाहरुलाई सोही अबस्थामा बसीरहन नपरोस भनेर यो कार्यक्रम ल्याइएको स्वास्थ्य मन्त्री राजु खनालले जानकारी दिए ।
कार्यविधि बनाएर कार्यक्रम लागु गरिने उनले बताए । आँखाको नानी प्रत्यारोपणका लागि बिरामीलाई रकम उपलब्ध गराउने नभई अस्पतालसँग सहकार्य गरेर अस्पतालकै खातामा रकम सोध भर्ना गर्ने गरि कार्यविधि तयार गर्न थालिएको उनले जानकारी दिए ।
विभिन्न कारणले आँखाको ज्योती गुमाएकाहरुका लागि कार्यक्रम निकै महत्वपूर्ण हुने विश्वास गरिएको स्वास्थ्य सचिव डा.जनार्दन पन्थीले बताए ।
आँखाको ज्योती गुमाएका धेरै ब्यक्तिहरु रकम अभावका कारण नानी प्रत्यारोपण गर्न नसक्नेहरु कार्यक्रमबाट लाभान्बित हुने उनले आशा ब्यक्त गरे ।