दाङ,चैत २९ । दाङको विजौरी बलात्कार काण्डका मुख्य दोषी भनिएका विष्णु चौधरी ८८ दिनमा जमानतमा छुटेका छन् । चौधरीले साढे दशलाख बढी धरौटी राखेर जमानतमा छुटेको जानकारी दिए ।
जेलवाट रिहा भए लगतै चौधरीले भने ‘ राजनीतिक प्रतिसोध साँध्न म माथि गरिएको षडेन्त्र विफल भएको छ । मलाई आज अदालतले न्याय दिएको छ ।’
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी ३१ वर्षीय चौधरीलाई १० वर्ष पहिलेको एउटा सामूहिक बलात्कार काण्डमा अदालतले दोषी ठहर गरेको थियो। सर्वोच्च अदालतले २०७२ साल फागुन ३० गते विजौरीमा भएको सामूहिक बलात्कार काण्डको मुख्य दोषी ठहर गर्दै चौधरीलाई ९ वर्ष ११ महिना २ दिन कैद सजाय सुनाउँदै ५० हजार जरिवाना समेत तोकेको थियो । तर चौधरी ८८ दिन अगाडि मात्रै पक्राउ परेका थिए ।
त्यो सवालमा चौधरीले भने ‘म आँफै बलात्कारीलाई पक्राउ गरेर प्रहरी समक्ष बुझाएको मानिस हुँ तैपनि म माथि राजनीतिक प्रतिरोधका कारण झुट्टा आरोप लगाइएको थियो।’
गढवा गाउँपालिका वडा नं. ६ गढवा निवासी १७ वर्षीया कल्पना खनाल २०६५ साल चैत १५ गते शान्ति नगरस्थित आफ्नो अंकल आन्टीको घरबाट तुलसीपुर हुँदै घोराही तर्फ जाँदै गर्दा विजौरीमा सामुहिक बलात्कारमा परेकी थिइन । उक्त दिन तत्कालिन माओवादीको वन्द रहेका कारण उनले घोराही जान गाडीको प्रतिक्षामा त्यही बसेको समयमा झुक्याएर नशालु पदार्थ ख्वाएर लठ्याएर बलात्कार भएको आफन्तले बताएका छन् । उक्त काण्डपछि कल्पना खनाल डिप्रेसनमा परिन्। खनालको बाँके हुँदै र लखनउसम्म उपचारको प्रयास भयो । त्यही क्रममा खनालको घटना भएको ८४ औं दिनका कल्पनाको मृत्यु भएको थियो ।