२०८३ असोज २८ गते बुधवार

छिल्लीकोट जीपलाइन निमार्णको काम अन्तिम चरणमा

तुलसीपुर,जेठ २२ । दाङको छिल्लीकोटमा जिपलाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा पर्ने छिल्लीकोट पर्यटकीय क्षेत्रका रूपमा परिचित छ ।

ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रमा आउने सर्वसाधारणलाई साहासिक खेल खेलेर रमाउन भन्ने उद्देश्यले निजी क्षेत्रबाट जीपलाइन निर्माणको काम भइ रहेको हो । अहिले जीपलाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

दुई वर्ष पहिले रजिष्टारको कार्यालय काठमाडौंमा छिल्लीकोट रिसोर्ट एन्ड एडभेन्चर प्रालिको नाममा कम्पनी दर्ता गरि जीपलाइन निर्माणको काम सुरु गरिएको म्यानेजिङ डाइरेक्टर ६५ बर्षीय शिव श्रेष्ठले फरककोणलाई बताए । तुलसीपुरका युवा २८ बर्षीय श्रीधर न्यौपाने, सोही उमेर समुहका माधव कार्की र शिब श्रेष्ठकी बुहारी आरती श्रेष्ठको संयुक्त लगानीमा दुई वर्ष पहिले नै जीपलाइन निमार्णको काम सुरु गरिएको थियो ।

त्यो बीचको कोरोना माहामारी र केही प्राविधिक समस्याले काममा केही ढिलाई भएको संचालकहरुले बताएका छन् । हालसम्म एक करोड जति लगानी पुगि सकेको र सबै संरचना तयार भइ पुरा हुँदासम्म झण्डै डेढ करोड लाग्न सक्ने अनुमान लगानी कर्ताहरुको छ । जीपलाइन संचालन पछि उनीहरुले रिसोर्ट निर्माण गर्ने उदेश्य लिएका छन् ।

त्यसका लागि उनीहरुले पहिले नै दश कठ्ठा जग्गा किनेका छन् । ‘जीप लाइनको काम सकिने बित्तिकै हामी रिसोर्ट निर्माण तर्फ लाग्ने छौं,’ श्रेष्ठले भने ‘ यहाँ आउने पर्यटकहरुले सहासिक खेल्दै मनोरञ्जन लिनुका साथै यही रिसोर्टमा बसेर रुची अनुसार स्थानीय परिकार पनि खान पाउन भन्ने हाम्रो चाहाना छ ।’

थी्र स्टार लेबलको रिसोर्ट ,साइकिलिङ्, मिनी बन्जीजम्प बनाउने गरि स्वीकृती लिइसकेको अर्का संचालक न्यौंपानेले जानकारी दिए । तर, उनीहरुले सरकारले छिल्लीकोटको मालिका कालिका देबी मन्दिरसम्म पुग्नका लागि राम्रो सडक बाटो, बिजुली बत्ती, पानीको व्यवस्था गर्न अत्यन्तै आवश्यक रहेको श्रेष्ठले बताए । आँफुले भने जसरी सबै संरचनाहरु निर्माण भएमा छिमेकी जिल्लाहरुसहित छिमेकी देश भारतवाट समेत पर्यटकहरु आउने उनले आशा ब्यक्त गरे ।

‘छिल्लीकोटलाई पर्यटकीय गन्तव्यका रुपमा चिनाउन मद्धत गर्नु हाम्रो उदेश्य हो,’ न्यौपानेले भने ‘ त्यसो हुन सकेमा छिल्लीकोटको विकासले धेरै फड्को मार्ने अपेक्षा छ ।’ छिल्लीकोट राज्य एकीकरणसंगै नेपालमा गाभिएको थियो । जहाँ अहिले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भ्यूटावर निर्माण गरिएको छ । त्यहाँबाट सिस्ने हिमाल, धवलागिरि हिमाल, दाङ उपत्यकाको समथर फाँट देख्न पाइन्छ । जीप लाइन निर्माणको लागि भारतबाट प्राबिधिक टोलीहरु आएका छन् ।

जीप लाइनको काम अन्तिम चरणमा पुगेको भन्दै अब टिकट काउन्टर , ड्रेस चेन्जिङ कक्ष, चमेना गृह, ट्वाइलेट–बाथरुम निमार्णको काम अगाडि बढ्ने उनले बताए । ती संरचना तयार भइ सकेपछि डेमो प्रर्दशनहरु सुरु हुने अर्थात जीप लाइन पनि अनौपचारिक रुपमा सुरु हुने उनीहरुले बताए । तर, बिधिबत उद्घाटन भने आगामी दशैँको घटस्थापनाका दिन गर्ने सोच रहेको श्रेष्ठले जानकारी दिए ।

तुलसीपुर –१९ छिल्लीकोटस्थित भुल्के सामुदायिक वनमा जीपलाइन निर्माण गरिएको छ । जस्को ९० प्रतिशत काम सकिएको सञ्चालक श्रीधर न्यौपानेले जानकारी दिए । ‘अब १० प्रतिशत मात्र काम बाँकी छ ,’ उनले भने ‘ वनसगं निजी साझेदारी कार्यक्रम अन्तरगत काम भइरहेको छ ।’

सामुदायीक वनलाई वार्षिक रुपमा फाइदाको अर्थात टिकट काटेको पाँच प्रतिशत शुल्क दिने गरि पहिलो चरणमा १० वर्षको सम्झौता भएको सञ्चालक न्यौपानेले बताए । यो तयार भएमा दाङ जिल्लाको पहिलो र लुम्बिनी प्रदेशको सबैभन्दा लामो जीप लाइन हुने छ । यसको दुरी ११०० मिटर छ ।

अप्ठेरो भूगोलका कारण सबै सामान मानिसले बोकेर ल्याउनु पर्दा काममा केही ढिलाई भएको न्यौपानेले स्वीकार गरे । बैशाख महिनामै जीपलाइन सञ्चालनमा ल्याउने योजना रहे पनि तार बिछाउनेदेखि विभिन्न प्राविधिक समस्या आउँदा ढिलाइ भएको उनले जानकारी दिए । जीपलाइन साहासीक खेल अन्तरर्गत पर्छ । छिल्लीकोट आफैमा एउटा ऐतिहासिक पर्यटकीय र धार्मिक क्षेत्र भएकोले यहाँ दैनिक सयौको संख्यामा पर्यटकहरु आउने गर्छन ।

छिल्लीकोटको विकास लागि केही नयाँ कुराहरु ल्याइ पर्यटन प्रर्बद्धनमा टेवा पुगोस र स्थानीय स्तरमा रोजगारी बढाउने उदेश्यले आँफहरु मिलेर योजनाको काम अघि बढाएको न्यौंपानेले बताए ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *