तुलसीपुर,बैशाख २५ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले टरिगाउँ एयरपोर्ट बनाउन कसैको मुख नताक्ने बताएका छन ।
सोमवार तुलसीपुर उद्योग वाणिज्य सघंले टरिगाँउ एयरपोर्टमा आयोजना गरेको कार्यक्रममा उनले भने,‘अब हामी धेरैको मुख ताक्दैनौं,हाम्रो एयरपोर्ट हामी आफै बनाउछौं । तर त्यसका लागि आजैबाट छलफल गरि एउटा समिति बनाएर अगाडी बढाउने लक्ष्य रहेको छ ।
मुख्यमन्त्री चौधरीले एयरपोर्ट बनाउने ठेकेदारसगं छलफल गरिसकेको र ७२ सिटे प्लेन चल्न सक्ने एयरपोर्ट बनाउनका लागि ७० करोड लाग्ने बताएको जानकारी गराए ।
उनले एयरपोर्ट विस्तारका लागि अर्थमन्त्रीसगं भेटेर छलफल गरिसकेको र क्यानसगं पनि छलफल गर्ने बताए ।
‘एयरपोर्ट निर्माणका लागि समिति बनाएर कुनै सघं÷सस्था वा व्यक्तीले जिम्मा लिनुस्,उनले भने,यसको काम आजैबाट थालौ,हामीले संघीय सरकारको ध्यानाकर्षण गराइसकेका छौं,यदि कतैबाट सहयोग भएन भनेपनि प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यबाट एयरपोर्टको धावन मार्ग विस्तार गर्न अघि बढौं ।’
तुलसीपुर उपमहानगरपालिकाका स्यानी चौधरीको अध्यक्षता भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री धनबहादुर मास्कीले टरिगाँउ एयरपोर्टको विषयलाई लिएर राजनिति नगर्न आग्रह गरे ।
‘टरिगाँउ एयरपोर्ट दाङ जिल्लाको गौरवको आयोजना हो,मास्कीले भने,‘हामी नजन्मदै बनेको एयरपोर्ट आजसम्म पनि अस्तव्यस्त छ,यसको स्तरोउन्नती गरेर व्यवस्थित गर्न जरुरी छ । ’
उनले लुम्बिनी प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर एयरपोर्टको कामलाई अघि बढाउने प्रतिबद्धता जनाए ।
तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष राम प्रसाद चालिसेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार सरद रेग्मीले गरेका थिए ।
