तुलसीपुर वैशाख १० । तुलसीपुर १२ कचिला क्षेत्रमा बस्ती र खेती योग्य जमिन बचाउन तटबन्ध गर्न थालिएको छ । ७० वर्षिय डिल्लीबहादुर चौधरी वर्षायाम सुरु हुन लाग्दा फेरि पनि खोलाले बस्ती डुबाउने होकि भन्ने चिन्ता यो वर्ष हुने छैन ।
दाङ उपत्यकाको ठुलो खोला ग्वारको पश्चिम र बबईको पश्चिम दक्षिणतर्फको करिब चार सय घरधुरी रहेको कचिला गाउँ सधै जोखिममै हुन्थ्यो । २०७९ कात्तिक महिनामा आएको बबई नदीको बाढीले करिब दश बिगाह बढी क्षेत्रफलको खेती योग्य जमिन कटान गरेको थियो भने बाढी बस्तीमा पसेको थियो । मानवीय कुनै क्षति नभएपनि पाकेको अन्नबाली सबै बाढीले बगाएर लगेको थियो ।
तुलसीपुर उपमहानगरपालिकाको बाढीबाट सबैभन्दा बढी जोखिमको क्षेत्र वडा नम्बर १२ को कचिला र १४ नम्बरको डबकपुरमा वैशाख महिनाभित्रै तटबन्धनको काम सम्पन्न गर्ने लक्ष्य राखेर काम सुरु गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष खुसीराम चौधरीले ग्वारखोलादेखि शितलपुर बबई नदी पुलसम्म करिब दुई किलोमिटर क्षेत्रमा तटबन्धनको आवश्यकता रहेको बताए ।
यो वर्ष भने सबैभन्दा जोखिमयुक्त क्षेत्रमा एक सय २० मिटरमा तटबन्धन गर्न सुरु गरिएको छ । वडाध्यक्ष चौधरीले पालिकाको नदी तट क्षेत्रको सबैभन्दा ठुलो घनाबस्ती रहेको कचिला गाउँलाई बाढीबाट बचाउनका लागि तटबन्ध अनिवार्य रहेको बताए ।
उनले विगतमा वडा नम्बर १३को फुलबारी क्षेत्र दक्षिणतर्फमात्रै तटबन्ध गर्दा कचिलातर्फ नदीले बहाव परिवर्तन गरेका कारण बस्ती बढी जोखिममा परेको बताए । वडाध्यक्ष चौधरीले तटबन्धबाट नदीले कटान गरेको खेतीयोग्य जमिन उकासेर त्यस क्षेत्रमा तरकारी पकेट क्षेत्र निर्धारणका साथै प्रत्येक हप्ता कृषिजन्य वस्तुको हाट बजार व्यवस्थापन गरिने बताए । उनले तटबन्धबाट करिब चार सय बिगाह खेतीयोग्य जमिन सुरक्षित रहने बताए ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले बाँकी क्षेत्रमा तटबन्धको कार्यलाई अघि बढाउनका लागि संघीय सरकारअन्तर्गत रहेको जनताको तटबन्ध कार्यालयसंग माग गरिएको बताए ।
उनले तटबन्धसंगै बस्ती जोगिनुका साथै तुलसीपुर क्षेत्रमा बबईको पानी लिफ्ट आयोजना सम्पन्न गर्नका लागि सहयोग पुग्ने बताए । उनले दीर्घकालीनरुपमा समस्या समाधानका लागि जिल्लाका दश वटै पालिकाले बबई नदी करिडोरलाई उच्च प्राथमिकतामा राखेको बताए ।
तटबन्धको काममा समुदायस्तरबाट समेत काम हुँदै आएको छ । तयार नेपालका फिल्ड संयोजक श्रमलाल चौधरीले पालिकाको सहकार्यमा थप क्षेत्रमा समेत तटबन्धको योजनालाई अघि बढाउन सकिने बताए ।