२०८१ बैशाख ७ गते शुक्रवार

पुरानो कुरिति र कुसंस्कृतीलाई त्याग्न जरुरी छ ः अध्यक्ष विश्वकर्मा

तुलसीपुर,चैत ७ । “अन्तराष्ट्रिय जातीय छुवाछूत भेदभावका विरुद्ध प्रतिरोध गरौःसंबैधानिक र कानुनी प्राबधानहरुको कार्यान्वयन गरौ”भन्ने मुल नाराका साथ ५८ औं अन्तराष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मुलन दिबस दाङ लगाएत देशैभर मनाइएको छ ।

यो दिवस प्रत्येक वर्षको २१ मार्चका दिनलाई विश्वमा अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका रुपमा मनाउने गरिन्छ । नेपालमा सन २००१ अर्थात वि.सं.२०५७ साल देखि मनाउन थालिएको हो । सोही दिबसका अबसरमा तुलसीपुर उपमहानगरपालिकाले मंगलवार सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले पुरानो कुरिति र कुसंस्कृतीलाई त्याग्न जरुरी रहेको बताएका छन । ‘आजपनि जनै हालेको आधारमा आफुलाई ठुलो मान्ने र महिलालाई महिनावारी हुदाँ तल्लो दर्जा दिने चलन छ,उनले भने,‘ प्रकृतिको नियमको विरुद्धमा जाने हाम्रो नेपाली समाजलाई परिवर्तन गर्न अत्यन्त आवश्यक छ ।’

उनले नेपालमा काम गर्नेहरुको अपमान हुनाले परम्परागत सिपहरु निमोठि दिने प्रवृतिले समाजको विकास हुन नसकेको बताए । ‘अहिले पनि प्रत्येक गाउँमा जुत्ता÷कपडा सिलाउने सिप र प्रविधिहरुकै प्रयोग भैरहेको छ,उनले भने,‘तर जुत्ता सिलाउने,कपडा सिलाउने काम गर्ने मान्छे घृणित र बसेर खाने मान्छेलाई भगवान मान्नुपर्ने सोच छ,यस्तो परम्परा र अन्धविस्वासलाई चिर्न जरुरी छ । ’ ।

उनले काम गर्नेहरुको अपमान हुदाँ विज्ञान,प्रविधि र उत्पादनले फड्को मार्न नसकेको बताए ।  ‘नेपालमा बसोबास गर्ने दलित मात्र होइन यहाँ अन्य जातजातिहरु पनि गरिब भएका छन,कुनै समय श्रीलंका र बंगलादेशमा पैसा पठाउने नेपाली अहिले उनै देशहरुमा जाने खोज्नेहरुको लर्के छ,अध्यक्ष विश्वकर्माले भने,‘अब आफै भन्नुस हामी कहाँ छौं ।’


तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खडकाको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका सासद रेखा शर्माले जातिय छुवाछुत र विभेदको अन्त्यका लागि प्रदेश सरकारसगं पहल गर्ने प्रतिबद्धता जनाइन ।

कार्यक्रममा प्रतिबेदन प्रस्तुत गर्दै दलित अधिकारकर्मी निर्मल नेपालीले अझै पनि समाजमा जातीय छुवाछूतले जरा गाडेको बताए । उनले सरकारले संविधानको धारालाई आत्मसाथ गरेर बिधेयक बनाउनु पर्ने जातीय छुवाछुतको मुद्धालाई साझा मुद्धा बनाउनुपर्ने बताए । ‘राज्यले दलित समुदायको उत्थानको निम्ति संविधानको मर्म र भाबनालाई बुझेर विधेयक बनाउन जरुरी छ,उनले भने,‘तब मात्र समानता मुलक समाज निर्माण गर्न सकिन्छ ।’

साथै उनले दलित समुदायको पेसालाई एकीकरण गरेर लैजानु पर्ने समेत बताए ।  कार्यक्रममा दलित सघं लुम्बिनी प्रदेश अध्यक्ष जोगेन्द्र विश्वकर्मा,अधिकारकर्मी सुशिल बस्नेतले फितलो कानुनले छुवाछुत कायमै रहेको तर्क गरे ।

यस्तै बालअधिकारकर्मी नबराज लामिछानेले समाजमा मानबले मानवप्रति गरिने व्यबहार संतोषजनक नभएको बताए । उनले जातीय छुवाछुत बिरुद्ध बनेका ऐन कानुनलाई कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताए । अधिकारकर्मीहरु सुस्मा गिरि र युवा कराराले जबसम्म आर्थिक र सामाजिक विकास हुँदैन तबसम्म छुवाछुतको अन्त्य नहुने धारणा राखे ।

त्यस्तै नेपाली काग्रेसका नेता इश्वरी प्रसाद सुनार,नेकपा एमाले नगर सचिब रुप बहादुर खत्री,एकीकृत समाज बादिका नगर अध्यक्ष शिव परियार,बबई गाउँपालिकाका निबर्तमान उपाध्यक्ष साबित्रा बिस्वकर्माले विभेदले बिकासलाई बाधक बनाएको गुनासो गरे ।

तुलसीपुर उपमहानगरपालिका सामाजिक बिकास शाखाका सयोजक मानबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विका शाखा प्रमुख माया श्रेष्ठले गरेकी थिइन ।

दिवसका अवसरमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने दर्जनौ व्यक्तीहरुलाई सम्मान गरिएको थियो भने विभिन्न पञ्चे बाजा,थारु नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।

औपचारिक कार्यक्रम पुर्ब र्याली सहित तुलसीपुर बजार परिक्रमा समेत गरिएको थियो ।

 

प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *