२०८३ भाद्र ११ गते बिहिवार

दिनदहाडै खुकुरी प्रहार गर्ने चारजना पक्राउ

नेपालगञ्ज,पुस १८ । नेपालगञ्जमा दिनदहाडै खुकुरी प्रहार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४, गणेशपुरमा आइतबार दिउँसो सवा एक बजे तीन जनालाई खुकुरी प्रहार गरी घाइते बनाएका चार जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो।

बाँके प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तिमगरका अनुसार, नेपालगञ्ज-१८ का विनय भण्डारी, राप्तीसोनारी गाउँपालिका-२ का नारायण डाँगी, नेपालगञ्ज-५ का प्रकाश रसाइली भन्ने तुलसीराम सुनार र नेपालगञ्ज-६ का तासे भन्ने प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको छ।

यी चार जनाले नेपालगञ्ज-१२ का अनुराग शाह, जानकी गाउँपालिका-३ का उज्वल शाह र नेपालगञ्ज-४ का सुभमजंग शाहलाई खुकुरी हानेका थिए। घाइतेहरूलाई नेपालगञ्ज शिक्षण अस्पतालमा प्रारम्भिक उपचार गरेर भारतको लखनउ पठाइएको छ।

युपी ३२ इयु ८६१६ नम्बरको कारमा रहेका चार जना खुकुरी प्रहारपश्चात् भारततिर भाग्दै गर्दा डुडुवाबाट पक्राउ परेका थिए।

उनीहरूले प्रयोग गरेको दुई थान खुकुरी नेपालगञ्ज-५, फुल्टेक्रास्थित झाँडीमा फेला परेको प्रहरीले जनाएको छ।

डिएसपी घर्तिमगरले दुई समूहका बीचमा रहेको पुरानो रिसका कारण आइतबारको घटना भएको बताए।

प्रकाशित मिति : २०७९ पुष १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *