बाँके, मसिंर २७ । पाँच महिनादेखि अवरुद्ध डुडुवा गाउँपलिकाको सेवा सुविधा अब खुल्ने भएको छ । आगामी पुस ४ गते सोमबार दिउसो २ बजे गाउँसभा बस्ने सहमती भएको छ ।
कार्यपालिकाको मंगलबार बसेको बैठकले पुस ४ गते गाउँसभा बस्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलले बताए ।
गाउँसभामा नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ । त्यसका लागि स्रोत अनुमान तथा बजेट अनुमान समिति, राजश्व परामर्श समिति र विषयगत समितिको बैठक बसिसकेको छ । अब बजेटको तयारी गरिने छ ।
वडा समितिले पुस १ गतेसम्म वडागत योजनाहरु कार्यपालिकाको बैठकमा पेश गर्ने भएका छन् ।
त्यसैको आधारमा योजना तर्जुमा गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
बैठकमा विपक्षी दलले सहमती गरेपछि सभाको टुगो लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
स्थानीय सरकार ंसंचालन ऐन २०७४ अनुसार विधि र प्रक्रिया बमोजिम स्थानीय तहका कार्यहरु गर्ने कानूनमा स्पष्ट व्यवस्था भएको र सोही बमोजिम गर्न खोज्दा विपक्षीको अवरोधले पालिकाको सेवा प्रभावित हुँदै आएको थियो ।
गाउँसभा नहँुदा आफुहरुको सेवासुविधा प्रभावित भएको भन्दै कर्मचारीहरुले तीन दिनदेखि कार्यालयमा तालाबन्दी गरि विरोधमा उत्रिएका थिए ।
गाउँसभाको मिति ताकिएपछि उनीहरुले विरोधका सम्पुर्ण कार्यक्रम स्थागित गरेको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।
पुस ४ गते सभा सम्पन्न नहुँदासम्म आन्दोलनका कार्यक्रम स्थगित गरि ताला खोलिएको छ ।
