२०८२ मङ्सिर २३ गते मङ्गलवार

जुम्लाका ३ वटा गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय सरकारसँग माग

जुम्ला,असोज २७ । जुम्लामा बाढी र पहिरोले सबैभन्दा धेरै क्षति पुर्‍याएको तीन वटा गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय सरकारसँग माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बिहीवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जुम्लाका कनकासुन्दरी, हिमा र सिंजा गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्दै सङ्घीय सरकारलाई राहत, उद्धार र पुनर्स्थापनाका लागि आह्वान पनि गरेको हो ।

समितिको बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ को ९१० बमोजिम जिल्लाका तीन वटा पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरी पठाइएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।

यसैबीच बाढी र पहिरोले जुम्लामा एक हजार ६ सय ७५ जना विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रमिला रिजालका अनुसार बाढी र पहिरोबाट तीन सय १६ वटा घर पूर्ण क्षति भएको छ ।

यस्तै चार सय ४० वटा घर उच्च जोखिममा रहेका छन् भने सात सय २६ वटा घरमा आंशिक क्षति भएको छ । प्रशासन कार्यालयका अनुसार बाढी र पहिरोमा परेर अहिलेसम्म १० जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।

गएको असोज १९ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीले कर्णाली राजमार्ग अझै बन्द छ ।

जिल्लाको सबै शक्ति प्रयोग गरेर सडक खुलाउने काम भइरहेको प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *