२०८२ मङ्सिर २३ गते मङ्गलवार

कपाल नकाटेको भन्दै शिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीको कपाल

जुम्ला,असार २८ । जुम्लाको एक विद्यालयमा विद्यार्थीहरुले लामो समयसम्म कपाल नकाटेको भन्दै सजाय स्वरुप शिक्षकले कक्षा कोठामै कपाल काटिदिएका छन् ।

जुम्लाको तिला गाउँपालिका ८ मा पर्ने देउराली माध्यामिक विद्यालयमा कक्षाकोठाभित्रै चार जना विद्यार्थीको कपाल काटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

विद्यालयका प्रधानाध्यापक रामभजन यादव स्वयंले विद्यार्थीको कपाल काटेको भिडियो विद्यालय आफैले पोष्ट गरेको थियो । प्रधानाध्यापक यादवले विद्यार्थीलाई कपाल नकाटेको भन्दै सजाय स्वरुप कक्षाकोठामा कपाल काटिएको बताए ।

विद्यालयले अनुशासन पालना गराउनका लागि कक्षा कोठामै कपाल काटिदिएको प्रधानाध्यापक यादवको भनाइ छ ।

कक्षा कोठाभित्र कपाल काटिरहेको भिडियोमा एक अर्का शिक्षकले पनि बोलिरहेको सुनिन्छ । उनले त्यहाँ बिचैमा टाटेपाटे बनाइदिनुपर्छ भनिरहेका छन् । विद्यालयका एक विद्यार्थीले कपाल काट्न भने अटेरी गरेको देखिन्छ ।

४ जनाको कपाल कक्षाकोठाभित्रै काटिएको छ भने एक जनाले नमानेपछि कक्षा कोठाबाट निष्कासन गरिएको छ ।

तिला गाउँपालिका शिक्षा शाखा प्रमुख झुनमाया खत्रीले यस भिडियोबारे आफूलाई जानकारी नभएको बताए । उनले कक्षा कोठामा कपाल काटेर सामाजिक सञ्जालमा राख्ने काम राम्रो नभएको र हेरेर प्रतिक्रिया दिने बताए ।

यस्तै मनोसामाजिक विमर्शकर्ता नन्दराज धिताल यो घटनाले बालबालिकाको मनमा हिनतावोध पैदा गर्ने डर हुने बताउँछन ।

प्रकाशित मिति : २०७९ असार २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *