काठमाडौं,असार १५ । आज असार १५, धान दिवसका रुपमा मनाइँदैछ । आज खेतमा काम गरी दहीचिउरा खाएर मनाउने चलन छ ।
सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाइँदैछ ।
नेपालमा १५ लाख हेक्टर जमिनमा बर्सेनि झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । नेपालको आर्थिक वृद्धिदर नै धानको उत्पादनमा निर्भर छ । तर किसानले बर्सेनि मलको समस्या भोग्दै आएका छन् ।
चालु आर्थिक वर्षका ११ महिनामा ७० अर्ब रुपैयाँको खाद्यान्न मात्रै आयात भएको छ । यसमध्ये ४५ अर्ब रुपैयाँभन्दा धेरैको धान, चामल, कनिका र धानको बीउ रहेको तथ्याङ्क छ ।
खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन्।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ।
यस्ता शुभकाममा निस्कनुअघि रातो टीकासँगै सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ।

