तुलसीपुर, मंसिर १७ । घोराहीमा साथीको जन्म दिन मनाउन होटेलमा गएका एक युवकको मृत्यु भएपछि उनका साथीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरियाका २१ बर्षीय गणेश पौडेल बुधबार राति उनका साथी नवीन गिरीको निमन्त्रनामा जन्म दिन मनाउन घोराही १५ स्थित फ्रेन्ड एण्ड फ्याम्ली होटेलमा गएका थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार पौडेललाई बेहोस अवस्थामा बिहीबार दिउँसो २ बजेमात्रै बुटवल उपचारका लगिएको थियो । उपचारका क्रममा अचेत अवस्थामै पौडेलको बुटवलमा बेलुका ८ बजे मृत्यु भएको थियो ।
त्यसपछि पौडेलका घर परिवारले उनको हत्या भएको आशंकामा प्रहरीमा जाहेरी दिएको हुँदा घटना अनुसन्धानका लागि उनका दश जना जति साथीहरुलाई नियन्त्रणमा लिनु परेको एसपी काफ्लेले जानकारी दिए । घटना बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर १७ गते शुक्रवार
