
तुलसीपुर,असोज ९ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत गाउँपालिका र नगरपािलकाको नेतृत्व चुन्न शनिबार दाङमा मतदान जारी छ । जिल्लाका शान्तिनगर, बंगलाचुली र राप्ती गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।
गढवा गाउँपालिकामा सभापति लगाएत केही पदहरुमा मात्रै नेतृत्वको छिनोफानो गर्न मतदान जारी छ । यहाँपनि अधिकाँस पदहरुमा शुक्रबार नै सर्वसम्मत भइसकेको जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ । शनिबार जिल्लाका सात पालिकाहरुमा काँग्रेसको नेतृत्व चुन्न मतदान जारी छ ।
तुलसीपुर उपमहानगरपालिका, घोराहीउपमहानगरपालिका, लमही नगरपालिका, राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिका र बबई गाउँपालिकामा काँग्रेस भित्रको संस्थापन पक्ष र संस्थापन इतरले प्यालनै खडा गरि प्रतिपर्धामा उत्रिएका छन् । जिल्लाको निर्वाचन मध्य सबैभन्दा चर्चा तुलसीपुरको निर्वाचनले चर्चा र महत्व पाएको छ ।

शनिबार दाङमा बर्षा जारी रहेको हुँदा मतदाता झरीका बीचमा मतदानमा सहभागि भएका छन् । पानीमा रुझ्दै र छाता ओढेर उम्मेदवार तथा मतदाता निर्वाचनमा सहभागि बनेका थिए । मतदाताका लागि उम्मेदवारहरुले छाता किनेर दिएका थिए । मतदान स्थलमा मतदातालाई झरीबाट जोगाउन त्रिपालको ब्यबस्थापनि उम्मेदवारले नै गरेका थिए ।
तुलसीपुरस्थित बिबीएस पार्टी प्यालेसमा जारी मतदानको बाहिरी तर्फ प्यालनका उम्मेदवारले आ–आफ्नो पक्षका ठूला ब्यानेरहरु टाँगेका छन् । प्यानल अनुसार समर्थकहरुले उम्मेदवारका तस्बिरसहितका तस्बिरहरु घाँटी र छातिमा टाँगेका छन् ।

तुलसीपुरमा बिहान दश बजेदेखि बेलुका पाँच बजेसम्मका लागि मतदानको समय तोकिएको मतदान अधिकृत धुर्बकुमार श्रेष्ठले जानकारी दिए । तुलसीपुरमा काँग्रेसको नेतृत्व चुन्न वडा प्रतिनिधि र वडा सभापति गरि कुल ५ सय ९७ जनाले मतदान गर्ने भएका छन् ।
दिउँसो पौने दूई बजेसम्म तुलसीपुरमा दूई सय ७६ मत खसेको थियो ।






