२०८१ चैत्र ९ गते शनिवार

बहुला कुकुरले टोकेका घाइतेको निशूल्क उपचार गर्ने तुलसीपुर उपमहानगरपालिकको निर्णय

तुलसीपुर, भदौ २५ । तुलसीपुर उपमहानगरपालिकाले बहुला कुकुरले टोकेर घाइते भएका ब्यक्तिहरुको उपचार निशुल्क गर्ने भएको छ । बिहिबार बौलाहा कुकुरको टोक्दा तुलसीपुरका करिब एक दर्जन सर्वसाधारण र पशुचौपाया घाइते भएपछि शुक्रबार बसेको आकस्मिक बैठकले उनीहरुको उपचार निशूल्क गर्ने निर्णय गरेको हो ।

तुलसीपुरका मेयर घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले तत्काल २० डोज इमोग्लोविन खोप खरिद गर्ने, अस्पतालसम्म जानका लागि घाइते तथा बिरामीलाई यातायातको व्यवस्था गर्ने निर्णय गरेको छ ।शुक्रबार मात्रै तुलसीपुरले भारतको रुपैडिहाबाट ५८ हजारमा ६ वटा इमोग्लोविन खोप मगाएको तुलसीपुरका स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमपी न्यौपानेले बताए ।

पीडितलाई निशुल्क उपचारका लागि सम्बन्धित वडा, पशु शाखा कार्यालय र नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
रेबिज बिरुद्धको खोपको थोक मूल्य प्रतिखोप करिब १० हजारसम्म पर्ने हुँदा पीडितलाई निशुल्क उपचार गर्ने निर्णय बैठकले गरेको उनले जनाकारी दिए ।

न्यौंपानेका अनुसार इमोग्लोविन खोप जटिल प्रकृतिका घाइतेलाई दिने गरिन्छ भने रेबिज सुई सामान्य प्रकृतिकालाई दिने गरिन्छ । बौलाहा कुकुरले मानिसको टाउको, अनुहार, घाँटी वा टाउकाको नजिकमा टोकेमा यो खोप दिने गरिन्छ । बिहीबार तुलसीपुर वडा नं. २ र ८ का १३ जनालाई बौलाहा कुकुरले टोकेको थियो ।

बौलाहा कुकुरको टोक्दा तुलसीपुर –२ बालापुरकी २६ बर्षीया दिलमाया नेपाली, ३५ बर्षीया कुमारी विक, २४ बर्षीय प्रेम चौधरी, कुमालगडीकी ५ बर्षीया छाँया वली, ४५ बर्षीय मदन चौधरी घाइते भएका छन् ।

त्यस्तै तुलसीपुर ८ अश्वाराका ७६ बर्षीय नन्दकुमार आचार्य, १० बर्षीया कुशुम परियार, ७ बर्षीया तुलसी परियार, ५० बर्षीय शिवराज भण्डारी , १७ बर्षीया मिना केसी, २८ बर्षीया बन्दना सेन ठकुरी, २१ बर्षीय विवेक वली र २१ बर्षीया शिवा आचार्य घाईते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

घाइतेहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि काठमाडांै रिफर गरिएको छ । कुकुरले बढी टोकेका कारण र टाँका लगाउन नमिल्ने भएकालाई रेबिज सुईले मात्र काम नगर्ने भएकाले इमोग्लोविन भ्याक्सीन लगाउन काठमाडौं पठाउनु परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख डा. विनोद सिंहले बताए ।
राप्ती प्रादेशिक अस्पतालमा रेबिज बिरुद्धको खोप प्रयाप्त मात्रामा उपलब्ध रहेको पनि सिंहले बताए ।

तुलसीपुर उपमहानगरपालिका विपत व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको अध्यक्षतामा बसेको बैठकले बौलाहा कुकुर, छाडा पशुचौपायको व्यवस्थापन गर्ने, घरमा पालेका कुकुरहरुलाई छाडा नछोड्न नगरबासीलाई आग्रह गर्ने र सजगता अपनाउन गाउँगाउँमा माइकीङ गर्ने निर्णय बैठकले गरेको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत धनराज गौतम, वातावरण शाखा प्रमुख काजु शर्मा, तुलसीपुर उपमहानगरपालिका–२ का वडाध्यक्ष राजु आचार्य, ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्याल, पशु चिकित्सक डा. मनोज वली, ईलाका प्रशासन कार्यालय तुलसीपुरका जोखिम वली, सूचना अधिकारी बाबुराम न्यौपाने लगाएतको सहभागिता रहेको मेयरका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *