२०८१ बैशाख १३ गते बिहिवार

विकास र सुशासनको लक्ष्य पूरा हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र सुशासनको मुख्य लक्ष्य पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पत्रकार शुभशङ्कर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’को विमोचनपछि प्रधानमन्त्री ओलीले जनताको विश्वास पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले देशका जनताले बहुमतसहित स्थिर सरकार बनाउन जनमत दिएकाले विश्वासघात नगर्ने प्रण गर्नुभयो ।

“समाजमा जादु देखाउन खोजेको होइन, विकास गर्न खोजेको हो परिणाम निकाल्नुपर्छ”, उहाँले थप्नुभयो, “लडाईं र लडाईंको अन्त्य पनि हामीले गरेको हो, समाज परिवर्तन पनि गरेकै हो, अब विकास पनि हामी नै गर्छौं ।” शान्ति प्रक्रिया सकिएर नयाँ युगमा नेपाल प्रवेश गरिसकेकाले कुनै शङ्का नगर्न विपक्षी दललाई आग्रह गर्नुभयो ।

उहाँले लामो अभ्यासपछि आएको गणतन्त्र के होला भनेर नआत्तिन आग्रह गर्नुभयो । पछिल्ला सात महीनामा सरकारले महत्वपूर्ण काम गरेको जिकिर गर्नुहँदै प्रधानमन्त्री ओलीले नयाँ अभ्यास भएकाले कतिपय अवस्थामा समस्या आएको बताउनुभयो । आएका चुनौतीलाई समाधान गर्दै जाने भनाइ उहाँको थियो ।

लोकतन्त्र आउँदैमा सबै चिज पूरा नहुने भन्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई ठीक ढङ्गले परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । बलिदानबाट ल्याएको लोकतन्त्रलाई जनताप्रति इमान्दार भएर प्रयोग गर्ने भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “शक्तिसँग टेर्दिन, सत्यसँग लड्दिन ।”

पछिल्लो सात महीनाको बीचमा मौलिक हक कार्यान्वयनका कानून निर्माण भएको, विभिन्न संशोधनका काम भएका छन् र सातै प्रदेशमा नयाँ कार्यालय स्थापना गर्नुपर्ने काम भएका छन्, भन्दै उहाँले असहज अवस्थाबाट अहिले अर्थतन्त्र तङ्ग्रिन थालेको बताउनुभयो ।

अहिले देश सङ्लिएर राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल र सुखि नेपाली’लाई मूर्तता दिन अघि बढेको दाबी उहाँको छ । कसैले मानवताविरुद्धको अपराध गर्छ भने दोषीलाई उन्मुक्ति नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसप्रति कसैले खेल्न कोशिश नगरे हुन्छ ।”

सुशासन सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “सबैले सुन्नेगरी भन्दछु, म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न ।”

उहाँले ‘अवतरण’ पुस्तकको केन्द्रीय विषय हिजोको माओवादी आन्दोलन, त्यसको अवतरण, हिजोको एमाले र माओवादी केन्द्रपछिको एकता र नेकपाको गन्तव्यमा केन्द्रित रहेकाले यसले केही खतरा र केही सम्भावना देखाएको उल्लेख गर्नुभयो । रासस

प्रकाशित मिति : २०७५ असोज २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *