दाङ, बैशाख ७ । २६ बर्ष पहिले कामको खोजीमा भारत पुगेका एक नेपाली अलपत्र अवस्थामा नेपालगञ्ज आइपुगेका छन् ।आफ्नो घर बिरगंज जिल्लाको जितपुर ठेगाना बताउने ५९ बर्षीय भक्तबहादुर तामाङ २०५१ सालमा भारतमा गएका थिए । भारतको क्वीनर भन्ने स्थानमा अलपत्र अवस्थामा त्यहाँ रहेका नेपालीले उद्धार गरि बाँके प्रहरीसम्म उनलाई पठाइ दिएका हुन ।
तामाङले आफु १५ बर्षदेखि भारतको क्वीनर गल्लीस्थित जितराम नेगीको घरमा बस्दै आएको र १५ दिन अगाडि साहुसंग झगडा भएपछि साहुले कामबाट निकालिदिएको प्रहरीलाई बताउने गरेका छन् । बाँके प्रहरीका अनुसार तामाङको मानसिक सन्तुलत ठिक छैन ।
तामाङले आफ्नो घर बर्दिया जिल्लाको बिजयनगर दमौली भन्ने स्थानमा रहेको बताउने गरेको प्रहरीले जनाएको छ ।
तर, तामाङको साथमा परिचय पत्र वा परिचय खुल्ने कुनैपनि चिज बस्तु नभएको हुँदा उनको नेपालस्थित घर परिवारको पहिचान गर्न कठिन भएको भन्दै प्रहरीले सहयोगको लागि सबैमा अपिल गरेको छ ।
प्रहरी समक्ष उनले आफ्नो बुवाको नाम पासाङ र आमाको नाम बुद्धि तामाङ बताउने गरेका छन् । त्यस्तै दाजुको नाम बलबहादुर र भाइ मनबहादुर तामाङ भएको प्रहरीलाई बताएका छन् ।
