दाङ, बैशाख ६ । घोराहीमा पाँच जुवाडे एक लाख ८० हजार नगदसहित पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १५ बालमन्दिर टोलका ४३ बर्षीय झुपल केसीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मार्दा केसी सहित पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्य व्यक्तिहरुमा घोराही १५ का २७ बर्षीय खगेन्द्र सापकोटा, वडा नं. १४ का ४३ बर्षीय बालाराम खड्का, सोही ठाउँका २४ बर्षीय मरिजमान खड्का र ३५ बर्षीय चन्द्र बुढा रहेका छन् ।
आइतवार बेलुका सवा ७ बजेतिर केसीको घरमा जुवा भइरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरु पक्राउ परेको जिल्ला प्र्रहरी प्रबक्ता डिएसपी मुकुन्द्रप्रशाद रिजालले जानकारी दिए ।
यसैबीच प्रहरीले जुवाखेलिरहेका व्यक्तिहरुको साथबाट बिभिन्न बैंकका ७ वटा चेकहरु समेत बरामद भएको जानकारी दिएको छ । जुवाडेहरुले नगदमा जुवा नखेली चेक मार्फत जुवा खेल्ने गरेको तथ्य यसअघि नै प्रहरीले पत्ता लगाई सकेको थियो ।
जुवाको खालबाट खेलिरहेको अवस्थामा तीन गड्डी तास समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ । यसैबीच पक्राउ परेका ब्यक्तिहरु माथि कानुनी कारवाहीको प्रक्रिया सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।