दाङ, चैत ३ । गत बर्षको भ्यालेन्टाइन दिनकै राति हत्या गरिएकी सल्यानकी १६ बर्षीया किशोरी कबिता बोहोराको हत्या छिमेकी एक तत्कालिन १६ बर्षीय किशोरले नै गरेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले कबिताको हत्या भएको एक बर्ष पछि मंगलवार पत्रकार सम्मेलन गरि कबिताको हत्यामा छिमेकी एक १६ बर्षीय किशोर संलग्न रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्द थापाले जानकारी दिए ।
त्रिवेणी गाउँपालिका वडा नं. १ तल्लो काभ्राकी कबिताको हत्या २०७६ साल फागुन २ गते राति खुकुरी प्रहार गरि भएको थियो । श्वासनली काटेको अवस्थामा घर नजिकै उनको शब फेला परेको थियो । घटनाको प्रमुख कारण एकहोरो प्रेमलाई मानिएको छ । स्थानीय जनता माबि काभ्रामा कक्षा ९ मा पढ्ने कबिताको सोही विद्यालयमा कक्षा १० मा पढ्ने गाउँकै किशोरले एकहोरो प्रेमका कारण गरेको भन्ने खुल्न आएको डिएसपी थापाले बताए । जस्ले विगत दूई बर्षदेखि कबितालाई पछ्याउँदै आएका थिए । तर कबिताले भने उनको प्रेम अस्विकार गर्दै आएकी थिइन ।
कबिताको अर्कै किशोरसंग हेलमेल बढ्नु,हिड्डुल गर्नु, उनीहरुका बीचमा प्रेम छ र अब छिट्टै बिबाह गर्छन भन्ने हल्ला चल्नु जस्ता कारणहरुले ती किशोरले कबिताको हत्या भन्ने स्वीकार गरेको प्रहरीले जनाएको छ । ‘भ्यालेन्टाईन डे कै दिन कबिताको हत्या हुनुको पछाडि यदी कबिता मेरी हुँदैन भने उस्को पनि हुन दिदैन भन्ने मानसिकताले काम गरेको देखिन्छ,’ पत्रकार सम्मेलनमा डिएसपी थापाले भने ।
तल्लो काभ्रा गाउँमा घर भित्र मोवाईलमा फोन सम्पर्क नहुने हुँदा फोन गर्नका लागि प्राय सबै स्थानीय आसपासका डाँडा पाखा चाहार्ने गर्छन । कबिता पनि रातिमा संधै फोन गर्नका लागि घर बाहिर निस्कने गर्थिन । त्यो कुरा ती किशोरलाई पनि जानकारी थियो । उक्त दिन पनि उनी निदाउन नसकेर खुकुरी लिएर हत्याको योजना साथ निस्केर कबितलाई एक्लै फेला पारी एकाएक हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीले फागुन ९ गते अभियुक्त किशोरलाई नियन्त्रणमा लिएको थियो ।
कर्तव्य ज्यान मुद्दा दर्ता गरेपछि सल्यान जिल्ला अदालतबाट ५ दिन को म्याद थप गरी फागुन १० गते जिल्ला सरकारी वकिल कार्यालय सल्यानमा अनुसन्धान प्रतिबेदन पेश गरेको थियो । त्यसपछि अभियुक्त किशोरलाई जिल्ला अदालत सल्यानको चैत १ गतेको फैसला अनुसार पूर्पक्षका लागि बालसुधार गृह बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाले बताए ।