२०७८ बैशाख १ गते बुधवार

बहुप्रतीक्षित मेलम्चीको पानी आज सुन्दरीजलमा झर्ने

काठमाडौं, फागुन २२। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट पानी आज सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा झर्ने भएको छ । यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । सुरुङबाट पानी आज सुनदरीजल आइपुग्ने आयोजनाले जनाएको छ ।

पानी आजै सुन्दरीजल आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन तथा अनुगमनका लागि त्यहाँ पुग्ने कार्यक्रमसमेत रहेको छ । आज अपराह्न ४ बजे प्रधानमन्त्री सुन्दरीजल जाने कार्यक्रम तय भएको छ ।

अहिले परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्नेछ । यो सफल परीक्षणपछि अब तीन महिना नकटाइ काठमाण्डौमा मेलम्चीको पानी उपलब्ध गराउने सरकारको योजना छ ।

सुरुवाती चरण भएकाले सुरुङको क्षमताभन्दा कम पानी छाडिएको छ । गएको असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो ।

गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । जसका कारण सुरुङ, मुहान स्थल र संरचनाको पुनः जाँच तथा मर्मत गरी अहिले पानी पठाइएको हो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *