काठमाडौं , फागुन २० । महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमा नाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकै साथ पाँच दर्जन बढी निलगाई फेला परेका छन् । मनराशिस्वा नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु नीलगाई देखा परेको स्थानीयवासीले बताएका छन् ।
विभिन्न उमेर समूहका पाँच दर्जनभन्दा बढीको संख्यामा रहेका नीलगाई नगरपालिकाको वन क्षेत्रमा देखिएको मनराशिस्वा नगरपालिका–२ का वडाध्यक्ष विनोदकुमार सिंहले बताए ।
नीलगाईले आसपासका खेतीबारीमा लगाइएको दलहन, तेलहन र तरकारीबाली खाएर किसानहरुलाई क्षति पु¥याउन सक्ने उनको भनाइ छ । दर्जनाै संख्यामा रहेका नीलगाई र तिनका बाछो वन क्षेत्रको खर र झारीमा लुकेर बस्ने गरेका छन् । मानिसलाई आफूतिर आएको देख्ना साथ नीलगाईहरु तीव्र गतिमा भाग्ने गरेको स्थानीयको भनाइ छ । स्थानीयवासीले वन क्षेत्रमा निलगाई फेला परेको बारेमा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराइसकेका छन् ।
गर्मी यामको आगमन भएसँगै अहिले जिल्लाको उत्तरवर्ती माथिल्लो वन क्षेत्र (जङ्गल) मा विभिन्न स्थानमा डढेलो लागेका कारण वन्यजन्तुको जीवन सङ्कटमा पर्न थालेपछि उनीहरु तलतिर झर्न थालेको बताइएको छ ।